उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो
समाचार सारांश
- उच्च अदालतको फैसलाले कोहलपुर-सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खोलेको छ।
- लाइन विस्तारमा उत्पन्न अवरोध हटेपछि आयोजना छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
- हालसम्म ९५ प्रतिशत प्रगति हासिल भएको आयोजनामा पाँच हजार रूख काटिएका छन्।
सुर्खेत । उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खुलेको छ ।
मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभारमा लाइन विस्तारका क्रममा उत्पन्न अवरोध न्यायालयको निर्णयपछि हटेकाले लाइन विस्तार गर्न सहज भएको हो ।
आयोजनाको काम छ महिनाभित्र पूरा गर्नेगरी काम अघि बढाइएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन बिस्तार आयोजनाका प्रमुख रवि चौधरीले बताए । वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाको विवाद पनि समाधान भएको छ ।
हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ । सत्तरी करोड लागतको उक्त आयोजनाअन्तर्गत धमाधम रूख कटान भइरहेको छ । हालसम्म पाँच हजार रूख काटिएका छन् भने अझै पाँच हजार पाँच सय रूख काट्नुपर्नेछ । आयोजना प्रमुख चौधरीका अनुसार एक सय ५६ फाउन्डेसन निर्माण गरिएको छन्भने अब छवटा फाउन्डेसन निर्माण गरिने छन् । हालसम्म ४० किलोमिटर तार तानिएको छ । अब १२ किलोमिटर तार तान्न बाँकी छ ।






प्रतिक्रिया दिनुहोस्