गण्डक नहरमा पानी नआउँदा किसान मर्कामा,
विरगञ्ज,
मेवालाल यादव
नारायणी सिंचाई आयोजना, विरगञ्जका प्रमुख मनोज पटेल र इन्जिनियर ललन बैठाको नेतृत्वमा रहेको कार्यालयप्रति बारा र रौतहटका किसानहरूले गम्भीर असन्तोष व्यक्त गरेका छन्। गण्डक नहरमा पानी प्रवाह भएको दाबी गर्दै कार्यालयले असार १४ गते नै विज्ञप्ति जारी गरे पनि, हालसम्म अधिकांश सिंचाइ शाखाहरूमा पानी नपुगेको किसानहरूले गुनासो पोखेखा छन् ।
बर्षा नपरेको यो समयमा अधिकांश किसान गण्डक नहरमार्फत प्राप्त हुने सिंचाइ पानीमा निर्भर छन्। खेतबारीको तयारी गर्दा पनि नहरको भरमा रहेका किसानहरू झुटा आश्वासनका कारण अन्योलमा परेका छन्।
किसानहरूले कार्यालय प्रमुख पटेलमाथि समयमै पानी व्यवस्थापन गर्न असफल भएको आरोप लगाएका छन्। असार २७ गतेसम्म बारा जिल्लाको मझरिया क्षेत्रमा केही मात्रामा मात्र पानी पुगेको भए पनि अन्य स्थानहरू अझै सूख्खा अवस्थामा छन्।
पानीबारे जानकारी लिन जाँदा प्रमुख पटेलले “म यही गाउँको हुँ” भन्ने अभिव्यक्तिसहित किसानहरूलाई धम्क्याउने प्रयास गरेको आरोप समेत किसानहरूले लगाएका छन्। यसले उनले आफ्नो जिम्मेवारीप्रति गम्भीर नभएको देखाउँछ।
यति संवेदनशील विषयमा पनि संघीय र प्रदेश सरकारको चासो नदेखिनु किसानहरूका लागि थप निराशाजनक बनेको छ। किसानहरूले समयमै सिंचाइको व्यवस्था नभए ठूलो क्षति हुने चेतावनी दिएका छन्।
नेपाल पक्षले भारतीय पक्षलाई पटक–पटक लिखित जानकारी गराए पनि गण्डक नहरमार्फत पानी नआउनु गम्भीर विषय बनेको छ। प्रमुख मनोज पटेलले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई समेत जानकारी गराइसकेका छन्। तथापि, भारतीय पक्षबाट अपेक्षित सहयोग प्राप्त नहुनु ‘नियतप्रति प्रश्न उठ्ने’ अवस्था भएको किसानहरूको भनाइ छ।
यसबीच, यदि आगामी २–३ दिनभित्र गण्डक नहरमार्फत पानी प्रवाह सुरु नभएमा रौतहट जिल्लाका किसानहरूले नारायणी सिंचाई कार्यालय, विरगञ्जलाई घेराउ गर्ने चेतावनी दिएका छन्।
नेपालस्थित भारतीय दूतावासले यो विषयलाई गम्भीरताका साथ लिनुपर्ने समय आएको किसानहरूको भनाइ छ, किनभने सिंचाइ सुविधा अभावले किसानहरूको उत्पादनमा गम्भीर असर पर्न सक्ने खतरा बढ्दो रहेको छ।






प्रतिक्रिया दिनुहोस्