झगडाका साथै गैरकानुनी कार्य हुने बुद्धनगरको ‘कडक चिया क्याफे’मा महानगरको डोजर

 समाचार सारांश

  • काठमाडौं महानगरपालिकाले बुद्धनगरस्थित कडक चिया क्याफेमा डोजर चलाएको छ।
  • स्थानीयको गुनासोपछि, उक्त क्याफेमा पटक पटक झगडा र गैरकानुनी कार्य भएको पाइएको थियो।
  • महानगरले अनुमति बिना बनेको र अवैध संरचना भत्काएको जनाएको छ।

काठमाडौँ । राजधानीको बुद्धनगरस्थित एक चिया पसलमा काठमाडौँ महानगरपालिकाले  डोजर चलाएको छ । बुद्धनगरको सुवर्ण मार्गस्थित ‘कडक चिया क्याफे’मा महानगर प्रहरीले शुक्रबार डोजर चलाएर संरचना भत्काएको हो ।  

frontline

काठमाडौँ महानगरपालिका वडा नम्बर १० मा पर्ने उक्त चिया क्याफेमा पटक पटक झगडाका साथै गैरकानुनी कार्य हुने गरेको बुद्धनगर टोलबासीको  गुनासो  थियो । १० असारमा उक्त क्याफेमा दिउँसै युवाहरूले  मादक पदार्थ सेवन गरेर झगडा गर्दा रक्तपातपूर्ण अवस्था बनेको थियो ।  त्यसपछि वडा सदस्य  सतिश तण्डुकारसहितका स्थानीयले प्रहरी बोलासँगै युवाहरू पक्राउ परेका थिए । 

त्यसअघि पनि दिउँसैदेखि मध्यरातसम्म युवाहरूले हो–हल्ला गर्ने, झगडा गर्ने जस्ता घटना हुने गरेको स्थानीयको भनाइ छ । पटक पटक स्थानीयबासीलाई डिस्टर्ब गर्ने तथा गैरकानुनी काम हुने गरेको गुनासोपछि वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीसमक्ष बुद्धनगर टोल सुधार समितिका अध्यक्ष प्रियनाथ खनालको टोलीले ११ असारमा शान्ति कायम गर्न माग गर्दै निवेदन दिए । 

त्यसपछि  वडाध्यक्ष केसीले तत्काल कडक चियाको संरचनाको के-कस्तो अवस्थामा निर्माण भएको हो ? कसरी चलिरेहको छ भन्दै नगर प्रहरीको पूर्वीक्षेत्र कमान्डलाई पत्राचार गरेको थिए । पत्राचार गरिसकेपछि छानबिन गर्दा उक्त संरचना नै अवैध ढंगले निर्माण भएको खुलेको थियो । 

‘हामीले खोज्दा संरचना नै अवैध पाइयो, अवैध संरचनामा गैरकानुनी काम गरिरहेको र स्थानीयबासी समेत आतङ्कित भएको अवस्था आएपछि आज हाम्रो टोलीले डोजर चलाएर भत्काइदिएको छौँ ’ नगर प्रहरीका पूर्वी क्षेत्र कमान्डर एसपी दिनेश अर्यालले रातोपाटीसँग भने । 

अर्यालका अनुसार महानगरको अनुमति विना र नक्सा पास विना नै अस्थायी संरचना बनाएर कडक चिया सञ्चालन हुँदै आएको पाइएको छ ।

 ‘संरचना भनेर भव्य बनाइएको केही छैन, तर माथि जस्ता हालेर अस्थायी संरचना बनाएका रहेछन् । त्यहाँ युवायुवतीको भीड नै लाग्ने रहेछ । चिया, चुरोट, रक्सी खाने गरेको पाइयो । त्यसकारण त्यो संरचना नै हटाएका हौं,’ अर्यालले भने ।

#महानगर #डोजर #काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here