मूल्य घटाएको बहानामा उत्पादन कटौती, सिमेन्ट उद्योगमाथि सिन्डिकेटको आरोप

समाचार सारांश

  • बजारमा सिमेन्ट र डन्डीको मूल्य घटेको छ, उद्योगीहरूले मूल्य घटाएका छन्।
  • लोडसेडिङ घटेको र माग बढेका कारण सिमेन्टको मूल्य घटेको बताइएको छ, तर व्यवसायीले सिन्डिकेटको आरोप लगाएका छन्।
  • गत वर्षको तुलनामा सिमेन्ट निर्यात घटेको छ, तर मूल्य नियन्त्रणमा सरकार असफल भएको गुनासो छ।

काठमाडौँ । पछिल्लो समय बजारमा सिमेन्ट र डन्डीको मूल्य घटेको छ । उद्योगीहरूले सिमेन्टको मूल्य ५० रुपैयाँभन्दा बढी र डन्डीमा ५ रुपैयाँसम्म घटेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । 

frontline

विभागका महानिर्देशक कुमारप्रसाद दहालले उद्योगमा लोडसेडिङ घटेको र माग बढेका कारण मूल्य घटेको बताए । उनका अनुसार  सिमेन्ट बोरामा ५० रुपैयाँदेखि एक सय रुपैयाँसम्म घटेको छ भने डन्डीमा प्रतिकिलो ५ रुपैयाँ घटेको छ । 

‘सिमेन्टमा प्रतिबोरा ५० देखि एक सय रुपैयाँसम्म घटाएको भन्ने आएको छ । लोडसेडिङका कारण लागत बढेपछि यसअघि मूल्य बढाएका थिए,’ उनले भने, ‘अहिले लोडसेडिङ पनि घटेको र माग पनि बढेको हुनाले मूल्य घटाएका छन् ।’

यसअघि १२ घण्टासम्म लोडसेडिङ भएको र उत्पादन लागत बढ्न गई सिमेन्टमा मूल्य बढेको उनको भनाइ छ । अहिले विद्युत् उत्पादन बढेपछि उद्योगमा लोडसेडिङ घट्न गई सिमेन्ट उत्पादन बढ्न थालेपछि मूल्य घटाएको महानिर्देशक दहालको तर्क छ । 

वर्षात्को समयमा निर्माण कार्य न्यून हुन्छ । यो समयमा सिमेन्टको खपत कम हुने भएकाले माग पनि घट्छ । यसकारण विगतदेखि नै उद्योगीहरूले वर्षाको वेला मूल्य घटाउने र निर्माणको सिजनमा बढाउने प्रवृत्ति नै छ । 

साउनदेखि भने निर्माण सुस्त हुने भएकाले निर्माण सामग्रीको मूल्य घट्दै जाने गरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् । 

  • ‘मूल्य घटाएको बहनामा उत्पादन कटौती गरे’

तर यो वर्ष अहिलेदेखि नै सिमेन्टको मूल्य घटाएको बहाना गरेर उद्योगीहरूले सिन्डिकेट गर्दै उत्पादन कटौती गरी मूल्य घट्न नदिने रणनीति लिएको सिंहले आरोप लगाए । 

‘सिमेन्टको मूल्य घटेको होइन । बरु सिन्डिकेट गरेर हिजो (सोमबार) देखि उत्पादन कटौती गरिएको छ,’ सिंह भन्छन्, ‘पहिला जति उत्पादन हुँदै आएको त्योभन्दा कम उत्पादन गरेर सिमेन्टको मूल्य घट्न नदिने रणनीति लिएका छन् ।’

अध्यक्ष सिंहका अनुसार डन्डीको मूल्य भने प्रतिकिलो ५ रुपैयाँसम्म घटेको छ । अहिले डन्डीको भाउ प्रतिकिलो ८१ देखि ८५ रुपैयाँ कायम भएको छ । यसअघि डन्डीको मूल्य ९६ रुपैयाँसम्म पुगेको थियो । 

यस्तै सिमेन्टको मूल्य ओपीसी सिमेन्ट प्रतिबोरा ६७५ रुपैयाँदेखि ८०० रुपैयाँसम्म पुगेको थियो भने पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ५५० रुपैयाँदेखि ६७५ सम्म पुर्‍याएका थिए । 

गत साउनमा ३ सयदेखि ४ सय रुपैयाँ प्रतिबोरा पर्ने सिमेन्टको मूल्य गत पुसमा प्रतिबोरा ८ सयसम्म मूल्य बढेपछि सिमेन्टको मूल्य घटाउन निर्माण व्यवसायीहरूले सरकारसमक्ष हारगुहार गरेका थिए । तर मूल्य घटाउन पहल नगरेको भन्दै प्रतिधिसभाअन्तर्गत लेखा समिति र उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा समेत पर्‍यो । दुईवटै समितिमा छलफल भयो । समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मूल्य घटाउन निर्देशनसमेत दिएको थियो । तर मन्त्रालयले मूल्य नियन्त्रण गर्न सकेको थिएन । 

यसपछि मन्त्रालयअन्तर्गत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट र डन्डीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्नुपर्ने व्यवस्था लागु गर्‍यो । तर सिमेन्ट उद्योगीले भने एमआरपीभन्दा फ्याक्ट्री गेट प्राइस (एफजीपी) राख्ने निर्णय गरेर हाल कार्यान्वयन गरिरहेका छन् । 

तर एमआरपी कायम भए पनि मूल्य नियन्त्रण गर्न सरकारले नसकेको सिंहको गुनासो छ । सिमेन्ट नेपालबाट भारतसमेत निर्यात हुँदै आएको छ । अहिले भारतमा सरदर प्रतिबोरा ५ सय रुपैयाँमा सिमेन्ट पाइन्छ । तर नेपालमा मूल्य बढाएर भारततर्फ सस्तोमा निर्यात भइरहेको अध्यक्ष सिंहको दाबी छ । 

  • भारततर्फ निर्यात पनि घट्यो 

भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा २ अर्ब ६६ करोड ४ लाख ७० हजार रुपैयाँको ८ लाख ८ हजार १३६ मेट्रिक टन सिमेन्ट तथा सिमेन्ट क्लिङ्कर निर्यात भएको छ । 

यसमध्ये १ अर्ब ९९ करोड ४२ लाख ७४ हजार रुपैयाँको ३ लाख २३ हजार २८३ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ भने ६६ करोड ६१ लाख ९६ हजार रुपैयाँको ४ लाख ८४ हजार ८५४ मेट्रिक टन सिमेन्ट तथा सिमेन्ट क्लिङ्कर निर्यात भएको हो ।

तर अघिल्लो वर्षको तुलनामा यो ३७.४६ प्रतिशतले निर्यात घटेको छ । अघिल्लो वर्ष ३ अर्ब ६५ करोड ७१ लाख ६१ हजार रुपैयाँको २६ लाख ४४ हजार ५०९ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ । 

यसमध्ये १ अर्ब ८३ करोड २४ लाख ७१ हजार रुपैयाँको २१ लाख ४७ हजार ७३७ मेट्रिक टन  सिमेन्ट निर्यात भएको थियो भने १ अर्ब ८२ करोड ४६  लाख ८९ हजार रुपैयाँको ४ लाख ९६ हजार ७७३ मेट्रिक टन सिमेन्ट क्लिङ्कर निर्यात भएको थियो ।

भन्सारको तथ्याङ्कले पनि अघिल्लो वर्षको तुलनामा निर्यात घटेको देखाउँछ । 

#सिमेन्ट #निर्माण सामग्री

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here