८१ करोडमा बनिरहेको आयल निगमको १४ तले भवन कहिलेदेखि आउँछ सञ्चालनमा ?

यो भवन निर्माण लागत मूल्य अभिवृद्धि कर बाहेक ८० करोड ९९ लाख रुपैयाँ हो । भवन निर्माणको क्षेत्रफल ९५९५.६५ वर्गमिटर रहेको छ । नयाँ भवनमा आयल निगमका ७ वटा विभाग रहने छ ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- नेपाल आयल निगमको नयाँ १४ तले कर्पोरेट भवनको निर्माण लगभग ९७ प्रतिशत सम्पन्न भएको छ।
- निर्माण कार्य ५ डिसेम्बर २०२१ मा सम्झौता भएको थियो र असारसम्म सक्ने लक्ष्य छ।
- भवनमा आधुनिक प्रविधि, अपांगता अनुकूल संरचना र ७ विभागको व्यवस्था गरिएको छ।
३० जेठ, काठमाडौ । बबरमहलस्थित सिंहदरबार दक्षिण गेटसँगै नेपाल आयल निगमको अत्याधुनिक र सुविधा सम्पन्न कर्पोरेट भवन निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ ।
१२ वैशाख २०७२ मा आएको विनाशकारी भूकम्पले कार्यालय भवन चर्किएपछि निगमले पुरानो भवन भत्काएर बबरमहलस्थित सोही स्थानमा आधुनिक र सुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणतिर पुगेको जनाएको हो ।
निर्माण सम्पन्न हुने चरणमा रहेको १४ तले नयाँ कर्पोरेट भवनको काम तीव्र गतिमा भइरहेको छ ।
निगमको कर्पोरेट भवन निर्माण आयोजना प्रमुख राम बन्जाराले भवन निर्माणको काम अहिलेसम्म ९७ प्रतिशत सम्पन्न भइसकेको बताए ।
‘भवन निर्माण आयोजनाको काम लगभग सकियो भन्दा पनि हुन्छ, अब २–३ प्रतिशत मात्रै बाँकी छ,’ आयोजना प्रमुख बन्जाराले अनलाइनखबरसँग भने, ‘अब हामीसँग एक महिना समय बाँकी छ । नयाँ आर्थिक वर्ष (१ साउन) देखि नयाँ भवनमा सरेर काम गर्नुपर्छ भन्ने तरिकाले तीव्र गतिमा काम अगाडि बढाइरहेका छौं ।’

दुई तला बेसमेन्ट सहित १४ तलाको भवन आधुनिक र सुविधा सम्पन्न ढंगले डिजाइन गरिएको छ ।
भवनको सिभिल स्ट्रक्चरसँगै इन्टेरियर अन्तर्गत भवनभित्र मेकानिकल, इलेक्ट्रिकल, प्लम्बिङ, फनिर्सिङ लगायत काम भइरहेको छ । भवनमा आधुनिक प्रविधिलाई जोड दिएर टेलिफोन, इन्टरनेट, सीसी क्यामेराको व्यवस्थापन गरिने गरी संरचना तयार गरिएको छ ।
‘अहिले हरेक तलामा लाइटिङ तथा वायरिङ, फल्स सिलिङ लगाउने काम, पेन्टिङ, कार्पेटिङ, फर्निचर सेटअप, वाल प्यानलिङ लगायत काम चलिरहेका छन्,’ आयोजना प्रमुख बन्जाराले भने, ‘यी काम पनि लगभग सकिने चरणमा छन् । ग्राउन्ड फ्लोर लगायतका केही तलामा अहिले तीव्र काम चलिरहेको छ ।’
अहिले तयार भएका सबै फ्लोरमा फर्निचर राखिएको छ । कतिपयमा सेटअप पनि गरिसकिएको छ । बाँकी रहेका फ्लोरमा पनि क्रमैसँग सेटअप गर्दै जाने बन्जाराले बताए ।
अहिले ग्राउन्डफ्लोर र पहिलो तलामा सबैभन्दा धेरै काम गर्न बाँकी रहेको छ । भवनमा २ वटा लिफ्ट रहेका छन् । ती लिफ्ट हाल्ने काम पनि भइरहेको आयोजना प्रमुख बन्जाराले बताए ।
यसमा फायर फाइटिङ सिस्टम पनि राखिएको छ । यसको पनि काम ९५–९६ प्रतिशत सकिएको छ । हाइराइज बिल्डिङ भएकाले पनि यसमा नेपालको बिल्डिङ कोड अनुसार फायर हाइजिनको सिस्टम अनिवार्य गरिएको उनको भनाइ छ ।
आयोजना प्रमुख बन्जाराका अनुसार निगम कर्मचारीका बालबालिकालाई डे केयरको सुविधा पनि रहेको हुँदा त्यसका लागि पनि एउटा छुट्टै भवन निर्माण गरिएको छ । बच्चा हेरचाहका लागि एउटा भान्सा, शौचालय र ठूलो हल रहेको छ । साथै, सोही भवनमा सेक्युरिटी गार्डहरूका लागि बस्ने सुविधा पनि रहेको छ ।

०००
सुरुवातमा भवन निर्माणका लागि ५ डिसेम्बर २०२१ मा सम्झौता भएको थियो । त्यसको समयसीमा २५ नोभेम्बर २०२४ सम्म थियो ।
‘३० महिनामा काम सक्नुपर्ने आयोजना थियो, विविध कारणवस त्यो समयसीमामा निर्माण सम्पन्न गर्न सकिएन,’ बन्जाराले भने, ‘अहिले असारसम्म १३ महिना समय थप गरिएको हो । असार अन्तिमसम्म सक्ने हाम्रो लक्ष्य छ ।’

यो भवन निर्माण लागत मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ८० करोड ९९ लाख रुपैयाँ हो । १३ प्रतिशत भ्याट थप गर्दा ९१ करोड रुपैयाँ बराबरको लागत पुग्ने उनले बताए ।
यो नमुना भवन निर्माणको डिजाइन र सुपरीवेक्षणको काम एनट आर्किटेक्चरल एन्ड आर्किटेक्ट प्रालिले गरेको हो । निर्माण भने केसी समानान्तर रेलिगेयर जेभीले गरेको हो । यसमा लिड पार्टनर समानान्तर ग्रुप रहेको छ ।
भवन निर्माणको क्षेत्रफल ९५९५.६५ वर्गमिटर रहेको छ । दुई वटा बेसमेन्टमा ६० बढी गाडी र ७० वटा मोटरसाइकल अटाउन सक्ने क्षमता छ ।

नयाँ भवनमा आयल निगमका ७ वटा विभाग रहने छ । जसमा आपूर्ति तथा वितरण विभाग, वित्त विभाग, प्रशासनिक विभाग, इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग, गुणस्तर नियन्त्रण विभाग, आन्तरिक नियन्त्रण विभाग, डेटा केन्द्र, एलपीजी उड्डयन विभाग, पुस्ताकालय डीएमडी मार्केटिङ रहनेछन् । यस्तै भवनमा १ सय जनाभन्दा बढी अटाउने सेमिनार हल र स्टोर रहने गरी डिजाइन गरिएको छ ।
०००
कंक्रिट फ्रेम संरचनामा निर्माण गरिएको भवन बेसमेन्टबाट ५२.५ मिटर र जमिन तलाबाट ४५.३५ मिटर उचाइ रहेको छ ।
भवनमा अपांगमैत्री संरचना निर्माण भएको छ । अपांगता भएका व्यक्तिहरूको सहज पहुँचका लागि भवन प्रवेश गर्न र्याम्पका साथै दुईवटा लिफ्टको व्यवस्था गरिएको छ ।

भवनभित्र अपांगता भएका व्यक्ति लगायत महिला, पुरुष र कार्यालयका कर्मचारीका लागि छुटाछुट्टै शौचालय निर्माण गरिएको छ । त्यसैगरी भवनभित्र दुई ठाउँमा भर्याङ निर्माण गरिएको छ । भवनमा एउटा आकस्मिक भर्याङ पनि छ ।
प्रतिक्रिया दिनुहोस्