डा. सिके राउतलाई घर र गाडी किनिदिएको दाबी: मन्त्री कुशवाहाका बुवा

मेवालाल यादव
नेपालको समकालीन राजनीतिमा प्रभावशाली उपस्थिति बनाउँदै आएको जनमत पार्टी विवादमा तानिएको छ। पूर्व कृषि मन्त्री तथा हालका पर्यटन मन्त्री ई. बसन्त कुशवाहाका बुवाले सार्वजनिक रूपमा पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतलाई घर तथा सवारीसाधन किनिदिएको दाबी गर्दै दिएको अभिव्यक्तिले पार्टीभित्रको पारदर्शिता, आर्थिक स्रोत व्यवस्थापन र नेतृत्व सम्बन्धी गम्भीर बहस जन्माएको हो ।
मंन्त्री बसन्त कुशवाहाका बुवा जयमंगल महतो( कुशवाहा) हुन्, उनले एक संञ्चारकर्मी समक्ष दिएको अभिव्यक्तिमा जनकपुर तथा काठमाडौंमा बस्नका लागि डा. राउतलाई घर, र प्रयोग गर्ने सवारीसाधन आफ्ना छोरा बसन्त कुशवाहाले उपलब्ध गराएको दाबी गरेका छन्। उनका अनुसार, “बसन्त नभएका भए जनमत पार्टी नै रहने थिएन,” भन्ने वाक्यांशले उनीहरूको आर्थिक र सांगठनिक योगदानलाई प्रत्यक्ष जोड्ने संकेत दिएको हो ।
उक्त अडियो अभिव्यक्ति सामाजिक संञ्जालमा तीव्र रूपमा फैलिएको हो । यसको प्रत्यक्ष प्रभाव स्वरूप रौतहट लगायतका स्थानहरूमा डा. राउतविरुद्ध अपमानजनक अभिव्यक्तिहरू सार्वजनिक भएका छन्, जसले पार्टीको नेतृत्व र आन्तरिक सम्बन्धमा गहिरो असन्तुलन रहेको संन्देश दिएको हो ।अध्यक्ष डा. राउत र मंन्त्री कुशवाहाबीचको सम्बन्ध तथा पार्टी संञ्चालनका लागि प्रयोग हुने स्रोतको पारदर्शिता अहिले प्रश्नको घेरामा परेको हो । अहिलेसम्म डा. राउत वा जनमत पार्टीको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया नआएको अवस्था थप जटिल बनेको हो ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यो विषय केवल व्यक्तिगत आरोप-प्रत्यारोपमा सीमित नरहेर पार्टीको आन्तरिक शक्ति सन्तुलन, निर्णय प्रक्रियामा पहुँच तथा भविष्यमा नेतृत्वको प्रतिस्पर्धासम्म जोडिन सकिन्छ । यसले आगामी दिनमा जनमत पार्टीको संगठनात्मक संरचना र विश्वसनीयतामा समेत असर पार्ने सम्भावना उच्च रहेको बताइएको हो ।




प्रतिक्रिया दिनुहोस्