सरकारले गर्यो आठ सचिवको सरुवा, बढुवा भएका सचिवको पदस्थापन

समाचार सारांश
- मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत ८ जना निजामती कर्मचारीको विशिष्ट श्रेणीको सचिव पदमा सरुवा गरेको छ।
- स्वास्थ्य, संस्कृति, शिक्षा, उद्योग र राष्ट्रपति कार्यालयका सचिवहरू सरुवामा परेका छन् भने केही नयाँ सचिवको बढुवा भएको छ।
- बागमती र गण्डकी प्रदेशका प्रमुख सचिवहरूमा पनि फेरबदल भएको छ, भने केही सचिवलाई अन्यत्र पदस्थापन गरिएको छ।
काठमाडौँ । सरकारले निजामती कर्मचारीको विशिष्ट श्रेणीको सचिव पदमा विभिन्न निकायमा कार्यरत ८ जनाको सरुवा गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ८ सचिवको सरुवा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले दिएको जानकारी अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रशासनतर्फका सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । लोक सेवा आयोगका सचिव डिल्लीराम शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रशासनतर्फ ल्याइएको छ ।




संस्कृति मन्त्रालयका सचिव विनोद प्रकाश सिंह गत वैशाख २५ गते अनिवार्य अवकाशमा गएपछि त्यहाँ सचिव पद रिक्त थियो । त्यस्तै राष्ट्रपति कार्यालयका सचिव डा. रामप्रसाद घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुर्याइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोक सेवा आयोगको सचिवमा सरुवा गरिएको छ। गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ। महालेखा नियन्त्रक कार्यालयमा सचिव पद रिक्त थियो ।
बैठकले प्रशासनतर्फको रिक्त सचिव पदमा भूपाल बराल र प्राविधिकतर्फको रिक्त सचिव पदमा दीनानाथ शर्मालाई बढुवा गरेको एक मन्त्रीले जानकारी दिए । प्राविधिकतर्फ सचिवमा बढुवा भएका मिश्रलाई रिक्त जल तथा ऊर्जा आयोगमा पदस्थापन गरिएको स्रोतले जानकारी दियो ।
सचिवमा बढुवा भएका बराललाई बागमती प्रदेशको मुख्यसचिवमा पदस्थापन गरिएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेका शोभाकान्त पौडेललाई गण्डकी प्रदेशको प्रमुख सचिव बनाइएको छ ।
बागमती प्रदेशमा नवनियुक्त सचिव बराललाई पठाएपछि त्यहाँ रहेका प्रमुख सचिव महादेव पन्थलाई हाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको र केही दिनमा अर्को जिम्मेवारीमा पठाइने स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस्