माइक्रोसफ्टमा जसले एआई तालिम दिए, उनीहरुकै जागिर खाइदियो एआईले

News Summary
Generated by OK AI. Editorially reviewed.
- माइक्रोसफ्टले करिब ६ हजार कर्मचारीलाई जागिरबाट हटाएको छ, जसमा अधिकांस सफ्टवेयर इन्जिनियरहरू छन्।
- कम्पनीले एआई टूल प्रयोग बढाउन निर्देशन दिएपछि, ती इन्जिनियरहरूले नै जागिर गुमाएका छन्।
- सत्य नडेला अनुसार, माइक्रोसफ्टमा करिब दुई तिहाइ कोड एआईले लेखिरहेको छ, जसले कर्मचारीहरूलाई चुनौती थपेको छ।
दिग्गज सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले हालै कम्पनीमा कर्मचारीहरुको कटौती गरेको छ । समाचार अनुसार माइक्रोसफ्टमा कार्यरत करिब ६ हजार कर्मचारीले जागिर गुमाएका छन् ।




कुनै पनि कम्पनीमा उसको कार्यबोझ, जनशक्तिको माग तथा आपूर्ति लगायतलाई मध्यनजर गर्दै कर्मचारी थप तथा कटौती हुनु नौलो कुरा होइन । तर, माइक्रोसफ्टको हकमा चाहिँ केही अनौठो नै भएको छ ।
माइक्रोसफ्टमा यसरी जागिर गुमाउनेमध्ये अधिकांस सफ्टवेयर इन्जिनियर छन् । ब्लुम्बर्गका अनुसार वाशिंटनस्थित कम्पनीका शाखाबाट कटौतीमा पर्नेमध्ये ४० प्रतिशत सफ्टवेयर इन्जिनियर रहेका छन् । अर्थात् जो इन्जिनियरहरुले एआई तालिम दिएका थिए, त्यहीँ एआईका कारण उनै इन्जिनियरहरुको जागिर गुमेको छ ।
माइक्रोसफ्टले केही महिनाअघि आफ्ना इन्जिनियरहरुलाई एआई टूलहरुको प्रयोग बढाउन निर्देशन दिएको थियो । कम्पनीले ती इन्जिनियरहरुलाई एआई माथिको आफ्नो निर्भरता बढाउन भनेको थियो । तर, त्यही एआईकै कारण अहिले आएर ती इन्जिनियरहरुले जागिर गुमाउनु परेको छ ।
द इन्फर्मेसनको रिपोर्ट अनुसार माइक्रोसफ्टका उपाध्यक्ष जेफ हल्सले आफ्नो टिमका सदस्यहरुलाई ५० प्रतिशत कम्प्युटिङ कोडको सिर्जना गर्नका लागि ओपन एआईको च्याटबटको प्रयोग गर्न भनेका थिए । उनको टिममा कुल ४ सय जना कर्मचारी थिए र उक्त घटनाको महिनौंपछि जब कम्पनीले कर्मचारीको कटौती गर्यो, त्यसबेला सबैभन्दा धेरै प्रभाव यिनीहरुलाई नै पर्यो ।
यो घटनापछि के ती इन्जिनियरहरुले आफ्नै प्रतिस्थापकहरुलाई तालिम दिएका हुन् ? भन्ने प्रश्न उठेको छ ।
माइक्रोसफ्टका सीईओ सत्य नडेला एआईका विषयमा खुलेर कुरा गर्ने व्यक्ति हुन् । उनका अनुसार माइक्रोसफ्टमा कतिपय परियोजनामा एआईले करिब २ तिहाइसम्म कोड लेख्ने गरेको छ । यद्यपि यी परिवर्तनका कारणबाट जागिर गुमाउनेहरुको अगाडि ठूलो चुनौती खडा भएको छ ।
यस्तो रोजगारी कटौतीले केवल तल्लो दर्जाका कोडर्सहरुलाई मात्र असर गरेको छैन प्रडक्ट म्यानेजमेन्ट तथा प्राविधिक कार्यक्रम व्यवस्थापन जस्ता पदहरुमा पनि यसले प्रभाव पारिरहेको छ ।
वास्तवमा माइक्रोसफ्टमा भइरहेको पछिल्लो कर्मचारी कटौतीको एउटा मूख्य कारण एआई माथिको बढ्दो निर्भरता पनि हो । कम्पनीले व्यवस्थापकीय तहहरुलाई कम गर्दै कार्यसन्चालनलाई मूल प्रवाहीकरण गरिरहेको माइक्रोसफ्टको भनाइ छ ।
जनवरीदेखि मार्च महिनासम्मको त्रैमासिकमा कम्पनीको आम्दानी उत्साहप्रद रहेपनि माइक्रोसफ्टले कर्मचारी कटौतीलाई अघि बढाइरहेको छ । यसको असर माइक्रोसफ्टकी एआई निर्देशक ग्याब्रिएला डी क्विरोजलाई पनि परेको छ । उनले यस बारेमा सोसल मिडिया प्लाटफर्म लिंक्डइनमा खुलासा गरेकी छिन् ।
उनले लेखेकी छिन् – मैले केही तितामिठा कुराहरु शेयर गर्दैछु । माइक्रोसफ्टका पछिल्ला कर्मचारी कटौतीका कदमबाट म पनि प्रभावित भएकी छु । के मेरो लागि यो अपेक्षाकृत थियो ? वर्तमानमा चाहे तपाईंले जतिसुकै कडा परिश्रम गर्नुहोस्, चाहे आफ्नो कम्पनीको जतिसुकै पैरवी गर्नुहोस् वा कम्पनीमा जतिसुकै परिवर्तन किन नल्याउनुहोस्, तपाईं कम्पनीको पुनर्संरचनाबाट अछुतो रहन सक्नुहुन्न ।
प्रतिक्रिया दिनुहोस्