७३ आईएसपीलाई १५ दिनभित्र बक्यौता बुझाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता दाखिल गर्न सूचना प्रकाशित गरेको छ ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- नेपाल दूरसञ्चार प्राधिकरणले ७३ इन्टरनेट सेवा प्रदायकलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको बक्यौता नतिरे कारबाहीको चेतावनी दिएको छ।
- प्राधिकरणले १५ दिनभित्र आवश्यक कागजात र रकम बुझाउन सूचित गरेको छ, नबुझाए कारबाही प्रक्रिया सुरु हुनेछ।
- सूचनामा क्लासिक टेक, डिस मिडिया नेटवर्क, ब्रोडब्यान्ड नेपाल लगायत कम्पनीहरूले रकम नबुझाएको उल्लेख छ।
८ जेठ, काठमाडौं । दूरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदान गरिरहेका ७३ कम्पनीलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता नतिरे कारबाही गर्ने चेतावनी दिएको छ ।
प्राधिकरणले १५ दिनभित्र रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता दाखिल गर्न सूचना प्रकाशित गरेको छ । तोकिएको समयभित्र आवश्यक कागजात र रकम नबुझाए दूरसञ्चार ऐन २०५३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी प्राधिकरणको छ ।
प्राधिकरणले प्रकाशित गरेको सूचनामा इन्टरनेट सेवा प्रदायक (आईएसपी) क्लासिक टेक, डिस मिडिया नेटवर्क, ब्रोडब्यान्ड नेपाल, ब्रोडलिंक नेटवर्क, वेबसर्फर नेपाल लगायत ७३ कम्पनीले रकम नबुझाएको उल्लेख छ ।
ती सेवा प्रदायकले केही वर्षदेखि नेपाल सरकार तथा प्राधिकरणमा बुझाउनुपर्ने लेखा परीक्षण विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार कोषको रकम समयमा नबुझाएको सूचनामा उल्लेख छ । पटक–पटक पत्राचार, इमेल तथा सूचना प्रकाशन मार्फत जानकारी दिँदा पनि ती सेवा प्रदायकले विवरण र बाँकी बक्यौता रकम दाखिला नगरेको प्राधिकरणको भनाइ छ ।
‘यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र नियमानुसार विवरण, कागजात सहित बांँकी बक्यौता रकम भुक्तानी गरी प्राधिकरणमा जानकारी गराउनका लागि यसे सूचना मार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।
इन्टरनेट सेवा |ग्रामीण दूरसञ्चार विकास कोष |नेपाल दूरसञ्चार प्राधिकरण
प्रतिक्रिया दिनुहोस्