चामलबारे ठट्टा गर्दा जापानको मन्त्रीको पद चट् !

समाचार सारांश
- जापानका कृषि मन्त्रीले चामल नकिन्ने र समर्थकले उपहार दिने बताएपछि जनआक्रोश बढेर राजीनामा दिए।
- जापानमा जीवनयापनको खर्च बढेको र चामलको मूल्य दोब्बर हुँदा सर्वसाधारण चिन्तित छन्।
- मन्त्रीको राजीनामाले प्रधानमन्त्रीको घट्दो जनसमर्थनलाई थप धक्का लागेको छ, जसले राजनीतिक अस्थिरता निम्त्याएको छ।
टोकियो । जब जापानका कृषि मन्त्री टाकु एटोले ‘आफूले कहिल्यै चामल किन्नु नपरेको किनभने समर्थकहरूले आफूलाई ‘धेरै’ चामल उपहारमा दिने गरेका छन्’ भनेर घोषणा गरे, उनले यस अभिव्यक्तिले हासो ल्याउने आशा गरेका थिए।
तर, यसको सट्टा एटोले जनताको आक्रोश कमाए, र त्यो आक्रोश यति धेरै भयो कि उनले पदबाट राजीनामा नै दिन बाध्य भए ।




जापानले दशकौँपछि पहिलो पटक जीवनयापनको खर्चको संकट सामना गरिरहेको छ । त्यो संकट देशको अत्यन्तै प्रिय खाद्य वस्तु चामलमा परिरहेको छ। चामलको मूल्य गत वर्षको तुलनामा दोब्बर भएको छ, र आयातित किसिमका चामलहरू निकै कम पाइन्छन्।
एटोले आइतबार एक स्थानीय चन्दा संकलन कार्यक्रममा दिएको टिप्पणीबारे माफी माग्दै भने, ‘मैले धेरै बोले।’ विपक्षी दलहरूले उनमाथि अविश्वास प्रस्ताव ल्याउने धम्की दिएपछि उनले राजीनामा दिए। उनको बहिर्गमनले जनसमर्थन गुमाइरहेको प्रधानमन्त्री शिगेरु इशिबाको अल्पमत सरकारलाई थप धक्का पुगेको छ।
चामल जापानमा एक शक्तिशाली संवेदनशील विषय बन्ने गरेको छ । पहिले पनि चामलको अभावले राजनीतिक उथलपुथल ल्याएको इतिहास छ। सन् १९१८ मा चामलको चर्को मूल्यवृद्धिका कारण आन्दोलनहरू भई सरकार नै ढलेको थियो।
त्यसैले अहिले चामलको मूल्यवृद्धिले इशिबाको घट्दो लोकप्रियतामा भूमिका खेलेको त्यति अचम्मको कुरा होइन। ‘राजनीतिज्ञहरू सुपरमार्केट जाँदैनन् किनभने उनीहरू आफैँ किनमेल गर्दैनन्, त्यसैले उनीहरूलाई जनताको अवस्था थाहा छैन,’ ३१ वर्षीया मेमोरी हिगुचीले योकोहामास्थित आफ्नो घरमा बीबीसीसँग कुरा गर्दै भनिन् ।
हिगुची पहिलोपटक आमा बनेकी हुन्, उनकी छोरी सात महिनाकी भएकी छिन्। सुत्केरीपछिको पुनःस्वास्थ्यका लागि राम्रो खाना उनको लागि अत्यन्तै आवश्यक छ । उनले भनिन्, ‘म चाहन्छु मेरी छोरीले राम्रो खान खान पाओस्, तर यदि चामलको मूल्य अझै बढिरह्यो भने, सायद म र मेरो श्रीमान्ले खाने चामलको मात्रा घटाउनु पर्नेछ।’
बीबीसी
प्रतिक्रिया दिनुहोस्