प्रधानमन्त्रीको ‘सालो’ बन्न पाएकोमा मख्ख हितेन्द्रदेवलाई ‘बा’ भन्न रुचि

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पछिल्लो समय सामाजिक सञ्जालमा ‘सालो केटो’ भनेर सम्बोधन गरेको देखिन्छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यको भाइ भएकै कारण प्रम ओलीले प्राधिकरणको नेतृत्व सुम्पिएको धेरैको बुझाई छ ।
तर, हकिकतमा भने ओली र शाक्यबीच नजिकको नाता सम्बन्ध नरहेको बुझिएको छ । हालै एक अन्तर्वार्तामा हितेन्द्रले प्रधानमन्त्रीकी पत्नी पाटन (ललितपुर)को शाक्य र आफू काठमाडौँ (अहिले इलाम)को शाक्य भएको बताएका हुन् । प्रधानमन्त्री ओलीलाई ‘भिनाजु’ भन्दा पनि ‘बा’ साइनो लगाएर बोलाउन रुचि लाग्ने पनि उनले खुलाए ।




प्रधानमन्त्रीसँग तपाई पारिवारिक नाता के हो ? भन्ने प्रश्नमा उनले भने, ‘म इलामको, उहाँ (प्रधानमन्त्री) झापाको । छिमेकी जिल्ला भयो । उहाँको म्याडम पाटनको शाक्य, म काठमाडौँको शाक्य । पारिवारिक नाता केही छैन, सोसल मिडियामा सालो केटा भनेर भारइल गराइदिहाले… (हाँस्दै) ।’
प्राधिकरणका एमडी शाक्यले प्रधानमन्त्रीको सालो भन्दा खुशी लाग्ने पनि बताए । ‘०७७ सालमा म एमडी भएर प्रधानमन्त्रीज्यूलाई भेट्न जाँदा उहाँ (राधिका)लाई पहिलोपल्ट भेटेको हुँ, अहिले मलाई प्रधानमन्त्रीको सालो भन्दा केही आपत्ति छैन, खुशी छु’, उनले थपे ।
‘भुतले खाजा खाने बेला किन एमडी बन्नुभयो ?’ भन्ने अर्को प्रश्नमा शाक्यले आफू खोज्दै नहिँडेको दाबी गरे । ‘म त तीन वर्षसम्म अदालतमा भौतारिएर थाकेको मान्छे, ०७७ मै मैले नमरी बाँचे कालले साँचे फेरि भेटौला भनेर प्राधिकरणबाट बिदा भएको हुँ’, उनले सुनाए, ‘म खोज्दै पसेको हैन, अन्याय भएको रहेछ यो सालो केटोलाई (हाँस्दै) भनेर सरकारले ल्यायो । मेरो क्षमता र रेकर्ड हेरेर ल्याउनुभएको हो ।’
शाक्यले चैतमा प्राधिकरणको कार्यकारी प्रमुख बन्नुअघि प्रधानमन्त्री ओलीलाई भेटेर ‘अदालतले न्याय दिएन’ भन्ने सुनाएको पनि खुलाए ।
प्रतिक्रिया दिनुहोस्