‘भाग्यमानी’दर्ज हुँदै विश्व पौडेल, ‘अभागी’ को भागमा को को ?

राष्ट्र बैंकको रिक्त गभर्नरमा आज साँझको क्याबिनेट बैठकले डा. विश्व पौडेललाई नियुक्त गर्ने तयारी छ । त्यसअघि गभर्नरको उम्मेदवार सिफारिस समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमार्फत् क्याबिनेटसमक्ष पठाउँदै छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक, पूर्व गभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको कमिटीले आजै तीन जनाको नाम सिफारिस गर्न लागेको बुझिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार बैंक ऐन २०५८ बमोजिम सिफारिस भएको देखाउन विश्व पौडेलसहित अन्य दुई जनाको नाम राख्नको लागि कमिटीको बैठक बस्नुपरेको हो । 

frontline

स्रोत भन्छ, ‘कायम मुकायम गभर्नरको जिम्मेवारीमा रहेकी डेपुटी निलम ढुंगाना तिम्सिना र अर्का डेपुटी बमबहादुर मिश्रको नाम क्रमशः २ र ३ नम्बरमा सिफारिस गर्ने योजना छ । पहिलो नम्बरमा योजना आयोगका पूर्व उपाध्यक्षको हैसियतमा पौडेलको नाम राखिँदै छ ।’ गभर्नरको प्रबल आकांक्षी तिम्सिनालाई खेलकुदमा उपविजेता र निर्वाचनमा निकटतम प्रतिस्पर्धी भनिएझैँ २ नम्बरमा राखेर फेस सेभिङ गर्न खोजिएको बुझिएको छ । छोरीको दिक्षान्त समारोहमा भाग लिन दुई साताअघि अमेरिका गएका अर्का डेपुटी मिश्रको भोलि काठमाडौं आगमन र पर्सि कार्यालयमा हाजिर हुने तालिका छ । 

यसअघि पनि डा. चिरञ्जिवी नेपाललाई गभर्नर नियुक्त बेला तत्कालीन डेपुटीद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारीलाई २ र ३ नम्बरमा सिफारिस गरिएको थियो । पाँच वर्षअघि महाप्रसादलाई गभर्नर बनाउने क्रममा डेपुटी चिन्तामणि सिवाकोटी सिफारिसमा परेका थिए ।

बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा कायम मुकायम गभर्नरले स्वीकृत नगरेपछि विश्व पौडेललाई गभर्नर बन्न मार्ग प्रशस्त भएको हो । काँग्रेस र सत्तारुढ दल एमाले नेतृत्वले भट्टलाई राजीनामा दिलाएर गभर्नर बनाउने योजना बनाउँदा पौडेल सिफारिस कमिटीका सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here