रोमाञ्चक खेलमा बेंगलुरुले चेन्नईलाई २ रनले हरायो

२० वैशाख, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार चेन्नई सुपर किङ्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ ।
बेंगलुरुले दिएको २१५ रनको लक्ष्य पछ्याएको चेन्नईले पूरा २० ओभरमा ५ विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो । ओपनर आयुष माथरेले ९४ रन तथा रविन्द्र जडेजाले अविजित ७७ रन बनाएपनि अन्त्यमा पर्याप्त हुन सकेन ।




अन्तिम ओभरमा १५ रन आवश्यक हुँदा सुरुको २ बलमा २ रन आएपछि तेस्रो बलमा एमएस धोनी आउट भएका थिए । त्यसपछि आएका शिवम दुबेलाई यश दयालले पहिलो बल नोबल गरे भने सोही बलमा छक्का पनि आएपछि ३ बलमा ६ रनको समीकरणमा झरेको थियो । तर त्यसपछि दयालले ३ बलमा ३ रन मात्र दिए ।
बेंगलुरुका लागि लुंगी एङ्गीडीले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । क्रुणाल पान्ड्या र यश दयालले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेंगलुरुले २० ओभरमा ५ विकेट गुमाएर २१३ रन बनाएको थियो । ज्याकब बेथेल र विराट कोहलीले शानदार ओपनिङ दिलाउँदै दुवैले अर्धशतक बनाए । कोहलीले ६२ र बेथेलले ५५ रन बनाए ।
बिचको ओभरमा बेंगलुरुको रनगति कम भएर १८ ओभरमा १५९-५ हुँदा रोमारियो शेपहर्डले १९औं ओभरमा खलील अहमदलाई ३३ रन प्रहार गरे । त्यस्तै २०औं ओभरमा टिम डेभिडले १ रन शेपहर्डले २० रन जोडेपछि बेंगलुरु २१३ रनको योगफलमा पुगेको थियो । शेपहर्ड १४ बलमा ५३ रनमा अविजित रहे ।
चेन्नईका लागि मथीसा पथिरानाले ४ ओभरमा ३६ रन दिएर ३ विकेट लिए । साम करान र नूर अहमदले १-१ विकेट लिए ।
यसपश्चात् ११ खेलमा आठौं जित निकालेको बेंगलुरु १६ अंकसहित शीर्षस्थानमा उक्लिएको छ भने प्लेअफ खेल्ने निश्चितजस्तै भइसकेको छ । ११ खेलमा ४ अंक मात्र भएको चेन्नई पुछारमा छ र यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्