‘२५ वर्षको मेहनत खरानी भयो’

६/७ वर्षदेखि त्यहाँ हाम्रो कार्यालय थियो । आजको आगजनीले २५ वर्षदेखि संकलन गरेका कागजात, दस्तावेज र महत्वपूर्ण कितावहरू जलेर नष्ट भएको छ ।
१५ चैत, काठमाडौं । काठमाडौं तीनकुनेमा इन्द्रणी सहकारीको कार्यालय छ । आज प्रदर्शनकारीहरूले आगजनी गरेको भवन पनि त्यही सहकारीको हो । हाम्रो सुवाल ल एसोसिएट्स र सेन्टर फर इन्टिलेक्चुअल प्रपर्टी नेपाल प्रा.ली.को कार्यालय पनि त्यही भवनमा थियो ।
भुईं तला समेत गरेर पाँच तले भवनमा चौथो तलामा हाम्रो कार्यालय थियो । कार्यालयमा म सहित अरु ३/४ जना कानुन व्यवसायी कार्यरत थियौं । आज म काम विशेषले भक्तपुरमा थिए, अरु साथीहरू कोही कता, कोही अदालतमा जानुभएको थियो ।




हामीले फ्ल्याट लिएर कार्यालय बनाएका थियौं । ६/७ वर्षदेखि त्यहाँ हाम्रो कार्यालय थियो । आजको आगजनीले २५ वर्षदेखि संकलन गरेका कागजात, दस्तावेज र महत्वपूर्ण कितावहरू जलेर नष्ट भएको छ ।
हामीलाई कानुन व्यवसायी राख्नुभएका मुद्दाका पक्षहरूले विश्वासमा परेर आफ्ना महत्वपूर्ण कागजात र मिसिल जलेर नष्ट भएको छ, जसको प्रति अन्यत्र कतै पनि थिएन । त्यसबाहेक कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, लगायतका स्टेशनरी र अरु सामानहरू जलेका छन् ।
घटनापछि हामी कार्यालयमा गयौं । कागजात कामै नलाग्ने भएका छन् । धन्न अफिसमा नगद राखिएको थिएन । तर जति खर्च गरे पनि नपाइने कागजात नष्ट हुँदा निकै दुःख लागेको छ ।
हामीसँग के कति कागजात थियो ? कति फाइलहरू कता थिए ? केही मेसो हुन सकेको छैन । हाम्रो मनस्थिति निकै बिग्रेको छ । घटनास्थल पुग्दा हाम्रो कार्यालयमा धुवाँ पुत्ताइरहेको थियो, बारुणयन्त्रका साथीहरूलाई ‘लौन, पानी हालेर निभाइदिनुहोला’ भनेर आग्रह गरेँ, उहाँहरूले पानी नै छैन भनेर जवाफ दिनुभयो ।
घटनापछि म बानेश्वर प्रहरीमा पुगेँ । उहाँहरूले भित्र छिर्न दिनुभएन । मैले मेरो कार्यालय जलेर नष्ट भएको गुनासो गरेँ, त्यसपछि भोलि आएर रिपोर्ट गर्नुहोला भनेर पठाउनुभयो । अहिले त कर्फ्यु लागेको छ । कसरी जानु ? गएर नै पो के जोगिएको होला र ?
(अधिवक्ता राज सुवालसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस्