काम खोज्दै ८ महिनामा विदेशिए ५ लाख ३४ हजार नेपाली

फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन् । योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले देश छाडेको देखिन्छ ।
३ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) मा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन् ।




वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन् । योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले देश छाडेको देखिन्छ ।
यो संख्या गत आव २०८०/८१ को यसै अवधिको तुलनामा ६३ हजारभन्दा धेरै हो । अघिल्लो वर्ष ८ महिनामा ४ लाख ७१ हजार युवाले श्रम स्वीकृति लिएको देखिन्छ । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिने युवाको संख्या हो ।
नेपालबाट अहिले मासिक औसत ६६ हजार ८ सय ८ युवा काम खोज्दै विदेशिने गरेका छन् । प्रतिदिन औसत २ हजार २ सय २७ युवाले देश छाडेको देखिन्छ ।
यूएई मुख्य गन्तव्य
यस वर्ष नेपालीको प्रमुख गन्तव्य खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) रहेको छ । विभागका अनुसार फागुनमा मात्र यूएईका लागि २५ हजार १ स य१७ जनाले श्रम स्वीकृति लिएका छन् । योसँगै ८ महिनामा यूएईका लागि कुल १ लाख ७३ हजार २ सय ५० जनाले श्रम स्वीकृति लिएका छन् ।
यस वर्ष विदेशिएका कुल युवामध्ये यूएई गएको संख्या ३२.४१ प्रतिशत छ । यूएईपछि साउदी अरब, कतार, कुवेत, मलेसिया प्रमुख गन्तव्य रहेको देखिन्छ ।
यद्यपि, यस वर्ष मलेसियाको रोजगारीमा भने भारी गिरावट आएको छ । गत वर्ष प्रमुख गन्तव्य मलेसिया रहेकोमा यस वर्ष पाँचौं स्थानमा झरेको छ । यस वर्ष फागुनमा जम्मा ३ हजार ७ सय १५ युवाले मात्र मलेसियाका लागि श्रम स्वीकृति लिएको देखिएको छ ।
जापानमा १ हजार ९ सय ६६ र कोरियामा १ हजार ८ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् । क्रोएसिया, रोमानिया, ओमान, बहराइन समेत धेरै नेपाली श्रम गर्न जाने देशमा पर्छन् ।
घटेन अदक्ष कामदारको विदेश यात्रा
यस वर्ष पनि नेपालबाट अदक्ष कामदारको विदेश यात्रा घट्न नसकेको तथ्यांकले देखाएको छ । फागुनमा मात्र २० हजार ८ सय २४ अदक्ष कामदार विदेशिएका छन् । माघमा यो संख्या २२ हजार ३ सय ७४ थियो ।
त्यस्तै पुसमा २० हजार ५ सय ६६ अदक्ष कामदारले श्रम स्वीकृति लिएका थिए । मंसिरमा अदक्ष कामदार संख्या २१ हजार ७ सय १६ थियो । कात्तिकमा यो संख्या १५ हजार ९ सय ७१ थियो ।
कुन महिना कति विदेशिए ?
यस वर्ष साउनमा ५९ हजार ५ सय ७५ जना विदेशिएको तथ्यांक छ । भदौमा ५७ हजार ४ सय ९३, असोज ५३ हजार ५ सय २५, कात्तिक ७० हजार ९ सय ९०, मंसिर ८४ हजार २ सय २६ र पुसमा ६७ हजार २ सय ५८ जना विदेशिएका थिए ।
त्यस्तै माघमा ७२ हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन् । चाडबाड लगत्तै नेपालीहरू बढी विदेश जाने गरेको ट्रेन्ड देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्