एजेण्डा स्थापित गर्न आन्दोलनमा एकीकृत समाजवादी

मुलुकको विद्यमान समस्याको जड बेरोजगारी र कु–सुशासन भएको निष्कर्ष सहित एकीकृत समाजवादीले राष्ट्रिय सम्वादको माग राखेर आन्दोलन थालेको छ ।

१ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले ‘सुशासन र रोजगारीः समाजवादीको तयारी’ भन्ने नाराका साथ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

frontline

केन्द्रीय आन्दोलन संयोजन समितिका संयोजक एवं पार्टी महासचिव घनश्याम भूसालले पहिलो चरणको आन्दोलन सार्वजनिक गरेका हुन् । आगामी २५ वैशाखसम्म चल्ने आन्दोलनको पहिलो कार्यक्रमका रूपमा आज पत्रकार सम्मेलन गरिएको छ ।

‘यो आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन हो’ भूसालले भने, ‘बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी हो, र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूका बीच सहकार्य र एकताको अभियान हो ।’

गत फागुन पहिलो साता सम्पन्न केन्द्रीय समिति बैठकले आन्दोलनको कार्यक्रमबारे निर्णय गरेको थियो । र, त्यसलाई संयोजन गर्ने जिम्मा महासचिव भूसाललाई दिइएको थियो । कार्यादेश बमोजिम भूसालले पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पार्टी गठनको साढे ३ वर्षे अवधिमा एकीकृत समाजवादीको यो पहिलो आन्दोलन समेत हो । २०७८ भदौमा नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादी लगातार जसो सत्तामा सहभागी हुँदै आएको थियो । तर गत असारमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि ‘आन्दोलनबाट पार्टी निर्माण’ गर्ने नीति लियो ।

यद्यपि सरकारमा रहँदै एकीकृत समाजवादीले २०८० असोजमा ‘मेची–महाकालीः समाजवादी जागरण यात्रा’ गरेको थियो । ‘त्यसबेला हामीले अभियान चलाएका थियौं ।

जनताका मुद्दाहरू बुझ्ने र संगठन निर्माणको कामलाई तीव्रता दिने त्यो अभियानको उद्देश्य थियो’ पार्टी प्रचार विभाग प्रमुख एवं उपाध्यक्ष प्रकाश ज्वाला भन्छन् ।

यसपटक पार्टीले घोषणा गरेको आन्दोलन भने देशको राजनीतिक निकाससँग सम्बन्धित रहेको उनी बताउँछन् । ‘सरकारमा बस्ने दल र नेताहरूले जनतालाई रोजगारी र सुशासन दिन सकेनन्’ उपाध्यक्ष ज्वाला भन्छन्, ‘अनि मुलुकमा व्याप्त बेरोजगारी र कुशासनलाई जनताले गणतन्त्रसँग जोडे । त्यसैले रोजगारी र सुशासनको माग राखेर हामी आन्दोलित भएका हौं ।’

महासचिव भूसालले पार्टीले उठाएका एजेण्डा देशको एजेण्डा नबन्दासम्म आन्दोलन नरोकिने बताएका छन् । ‘अब हामी आन्दोलनमा छौं, र यी मुद्दा (पार्टी राखेको मागहरू) राष्ट्रिय मुद्दा नबनाउँदासम्म, आन्दोलन चलिरहनेछ’, भूसालले भनेका छन् ।

बक्तव्य मार्फत एकीकतृ समाजवादीले ‘सुशासन र रोजगारीका लागि राष्ट्रिय सम्मेलनको माग गरेको छ । ‘… हाम्रो प्रस्ताव छः मुलुकको राष्ट्रिय एजेण्डा बनाउन सरकारले यथाशीघ्र रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलनको आयोजना गरोस्’ वक्तव्यमा भनिएको छ ।

त्यस्तो सम्मेलनमा सबै राजनीतिक पार्टीहरूले आगामी १० वर्षमा रोजगारी र सुशासनको क्षेत्रमा गरिने कार्य योजना पेस गरिनुपर्ने प्रस्ताव एकीकृत समाजवादीले गरेको छ ।

‘सुशासन र रोजगारीका निम्ति दलहरूबीच हुने सम्वादलाई हामीले राष्ट्रिय सम्वादमा भनेका छौं । हाम्रो आन्दोलनले देशलाई त्यो स्थितिमा लैजानेछ’ अर्का उपाध्यक्ष जगनाथ खतिवडा भन्छन् ।

सुशासनका क्षेत्रमा एकीकृत समाजवादीले सार्वजनिक पदमा बसेका सबैमाथि छानबीन गर्नेगरी उच्च स्तरीय शक्तिशाली आयोग गठनको प्रस्ताव गरेको छ । रोजगारी सिर्जनाका क्षेत्रमा भने विषयत व्याख्या सहित प्रस्ताव सार्वजनिक गरेको छ ।

सत्ताको खेलमा नअल्मलिने

देश र जनताले खेपिरहेको समस्या हल गर्नकै निम्ति एकीकृत समाजवादी आन्दोलनमा होमिनु परेको उपाध्यक्ष ज्वाला बताउँछन् । ‘देशको मूल समस्या बेरोजगारी र कुशासन हो । त्यसैकारण जनता निराशा छन्, आक्रोशित छन्’, उनी भन्छन्, ‘अब हामी सुशासन र रोजगारीका निम्ति आन्दोलन गर्दै गणतन्त्रको रक्षा गछौं ।’

देश अहिलेको अवस्थामा पुग्नुमा सत्ता केन्द्रित नाजायज गठबन्धनको राजनीति भएको निष्कर्ष एकीकृत समाजवादीले निकालेको छ । ‘सत्ता केन्द्रित नाजायज गठबन्धनको राजनीतिले मुलुकका आर्थिक समस्या समाधान गर्न सक्दैन, राज्य नालायक बन्दै जान्छ, राज्यको नालायकीले सामामाजिक असन्तुष्टिलाई बढाउँछ’ महासचिव भूसालले सार्वजनिक गरेको बक्तव्यमा भनिएको छ, ‘नालायक राज्यले शक्ति प्रयोग गर्न थाल्छ र अस्थिरताका शक्तिहरू, पुराना साम्प्रदायिक र पपुलिष्ट तत्वहरूले त्यस असन्तुष्टिलाई उत्तेजक बनाउँदै जान्छन् ।’

भूसालले अहिले राज्य अनुत्तरदायी र सडक अराजक बन्दै गएको निष्कर्ष प्रस्तुत गरेका छन् । त्यसैकारण एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको उनले उल्लेख गरेका छन् ।

‘… यस अवस्थामा देशका जिम्मेवार राजनीतिक पार्टी र नागरिक समुदायले गम्भीर आत्म समीक्षा गर्दै एउटा नयाँ पहलकदमीद्वारा हस्तक्षेप गर्नु आवश्यक भइसकेको छ, जसले सत्ताधारी गठबन्धनका नालायकी विरुद्ध आम जनतालाई सचेत र संगठित गर्दै मुलुकलाई अपमानको इतिहासबाट मुक्त गरोस् र अग्रगामी निकास देओस्’, भूसालले लेखेका छन् ।

गणतन्त्र रक्षाकै निम्ति पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने परिस्थिति भने बितेका १०/१२ वर्षमा पार्टी र नेताहरूले गरेका गल्तीका कारण सिर्जना भएको तर्क गरिएको छ । ‘… गरीबी, पछौटेपन, विभेद, अविकास र पराश्रयको अपमानपूर्ण इतिहासलाई उल्ट्याउन र मर्यादापूर्ण जीवन बाँच्ने नेपालीको प्रयासलाई सार्थक बनाउन सकिन्थ्यो’ बक्तव्यमा लेखिएको छ, ‘.. संविधानमा उल्लेख भएको समृद्धि र समाजवादको मर्म पनि त्यही थियो । तर राजनीतिक नेतृत्वले नेपाली इतिहासले सुम्पेको युगिन दायित्वलाई बुझ्न सकेन, बरु स्वार्थी, पदलोलुप र आत्म केन्द्रित हुँदै गयो । पार्टीहरूभित्र लोकतन्त्र अपहरित हुँदै गयो ।’

यसरी पार्टी नेतृत्वले दायित्व बिर्सदा नागरिकमा निराशा भने बढेर गएको निष्कर्ष एकीकृत समाजवादीको छ । ‘गल्ती त नेताहरूले गरेका हुन्, राजनीतिक पार्टीहरूले गरेका हुन् । रोजगारी र सुशासन दिन नसकेको नेताहरूले हो’ प्रचार प्रमुख ज्वाला भन्छन्, ‘तर गणतन्त्रले रोजगारी दिएन, सुशासन भएन भन्ने भाष्य जर्बजस्त बनाउन खोजियो ।’

अहिले पनि अरू दलहरू राजनीतिक निकासको एजेण्डा बिनै सत्ताको मिसन–०८४ र सत्ताको खेलमा रहेको एकीकृत समाजवादीको ठहर छ । ‘विभिन्न राजनीतिक दलहरूले एजेण्डा नै कथाकथित मिसन–०८४ आरम्भ गरिरहेको, सरकार बनाउने र भत्काउने खेलमा राजनीति रुमल्लिई रहेको, जनतामा असन्तुष्टि बढिरहेको र त्यसलाई पुनरुत्थानवादी, अराजक तथा पपुलिष्टहरूले दुरूपयोग गर्न प्रयत्न गरिररहेको अवस्थामा हामीले राष्ट्रिय सम्वादको नयाँ आन्दोलन आरम्भ गरेका छौं’, भूसालले भने ।

नेताहरूका अनुसार अब सत्ताको खेलमा नअल्मलिने र सडकबाटै जनताको एजेण्डा स्थापित गर्न एकीकृत समाजवादीले आन्दोलनको घोषणा गरेको हो । ‘हाम्रो प्राथमिकता जनता र देशको समस्या हल गर्ने हो । सत्ता, पार्टी एकता र मोर्चाहरू सहायक कुरा हुन्’ उपाध्यक्ष खतिवडा भन्छन्, ‘पहिलो चरणको आन्दोलन सुझाव संकलन र मागपत्र राख्नेमा केन्द्रित हुनेछ । यसपछि हामी दबावमुलुक आन्दोलनमा होमिन्छौं ।’

एकीकृत समाजवादीले आन्दोलनकै क्रममा पार्टी पनि निर्माण हुने विश्वास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here