राम बाबु पाण्डे आईसिसि सदस्यका उम्मेदवार
आफु भए सबै ठिक -अरु भए बेठिक’ भन्ने परिपाटीलाई अग्रज, अभियन्ता तथा एनआरएनका उम्मेदवारहरुले मनन गर्नुपर्ने
क्यालिफोर्निया, अमेरिका । श्री पशुपतिनाथ बुद्ध फाउण्डेशनका सदस्य एवं समुदायमा डटेर काम गर्दै आएका सामाजिक ब्यक्तित्व रामबाबु पाण्डेले आगामी २०२१-२०२३ का लागि आईसिसि सदस्यमा उम्मेदवारी दिएका छन् ।
हामी नेपालीबीच एकता र सहकार्य अति नै आबश्यक छ, आईसिसि सदस्यका उम्मेदवार पाण्डेले भने, -सबैको सल्लाह, सहयोग र सहकार्यमा एनआरएनलाई गलिशिल बनाउने उद्धेश्य अनुरुप नै मैले आईसिसि सदस्यमा उम्मेदवारी दिएको हो ।
रामबाबु पाण्डे क्यालिफोर्नियाका अग्रणी अभियन्ता अनि सफल व्यवसायी हुन । जानकारहरु भन्छन, -अहम, घमण्ड र आडम्वर पाण्डेमा कहिल्यै देखिएन । अझ, एनआरएन अमेरीकाको क्यालिफोर्निया च्याप्टर अध्यक्ष २०१७-२०१९ रहँदा पाण्डेले खेलेको भुमिका, बहन गरेको सामुदायिक जिम्मेवारी र सबैसंग गर्ने मित्रवत ब्यबहार अहिले पनि सबैको मानसपटलमा स्मरणीय छ ।
सामाजिक भावना र मानवीय संवेदना नभई समाजसेवा गर्न असम्भव छ, आईसिसि सदस्यका उम्मेदवार पाण्डेले भने, -नेपालको नुवाकोटमा जन्मिए, सरस्वती क्याम्पस पढे, त्यतिबेलैदेखि व्यवसायतर्फ आकृष्ट भँए र अमेरिका आँए ।
सानैदेखि जो कोही दुःख परेको ब्यक्ति देखेपनि सहयोग गरौ-गरौ लाग्ने अनि सकेको सहयोग गर्ने क्रममा अहिले अमेरिकामा पनि आफुले सकेको निस्वार्थ सहयोय संस्थागत तथा ब्यक्तिगत रुपमा गर्दै आइरहेको छु ।
सन २०१४ देखि एनआरएन अभियानको अग्रपंक्तिमा लागेर सन २०१५ मा क्यालिफोर्निया च्याप्टरको उपाध्यक्ष र सन २०१७ मा च्याप्टर अध्यक्ष कुशलतापुर्वक बहन गरेका अगुवा राम बाबु पाण्डे दुई पटक महाधिवेशन प्रतिनिधि चुनिएर काठमाण्डौ पुगिसकेका छन् ।
आईसिसिका अधिकांश सम्मेलन तथा कार्यक्रमहरुमा सहभागिता जनाइसकेका पाण्डेले यहि भोगाई, बुझाई र अनुभवले आईसिसि सदस्यमा उम्मेदवारी दिएको जनाए ।
बिश्वब्यापी संस्था एनआरएन हरेक नेपालीको साझा संस्था हो, यसर्थ एनआरएनमा सबैको उत्तिकै अधिकार र सहभागिता हुनुपर्छ भन्ने मान्यता राख्ने पाण्डेले ‘आफु भए सबै ठिक -अरु भए बेठिक’ भन्ने परिपाटीलाई अग्रज, अभियन्ता तथा एनआरएनका उम्मेदवारहरुले मनन गर्नुपर्ने उल्लेख गरे ।
यहि धारणा र बुझाईले खारिएका आईसिसि उम्मेदवार राम बाबु पाण्डेले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर पनि सबैको भावना र सहकार्यलाई अंगाल्दै आईसिसि सदस्यमा उम्मेदवारी दिएको प्रस्ट्याए । आगामी दिनमा सबैलाई मिलाएर एनआरएनलाई गतिशिल बनाउन सबैको साथ, सहयोग र समर्थन रहनेमा राम बाबु पाण्डेले बिश्वास ब्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्