कुनै अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् : मेयर बालेन

फाइल तस्बिर

११ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आत्मदाहको प्रयास गरेर ज्यान गुमाएका प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुधबार बिहान फेसबुकमा लामो स्टाटस लेख्दै उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

आचार्यको घटनाको धेरै कारण र संकेत हुन सक्ने भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको उनले उल्लेख गरेका छन् । “…र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरू असफल भएका छन्,” मेयर बालेनले लेखेका छन् ।

frontline

आचार्यको घटनालाई उनले अहिलेको समयको सबैभन्दा विस्मयकारी घटना भनी टिप्पणी गरेका छन् ।

“…कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सीप सिक्ने र ती सीपहरूको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा असाध्यै संवदेनशील भएर काम गरिरहेको छ भने उनको मागहरूमध्ये काठमाडौं महानगरको  क्षेत्राधिकारमा पर्ने कामहरू पनि हँुदै छन्,” उनले लेखेका छन् ।

उनले कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर गरिने चियोचर्चोप्रति रोष समेत प्रकट गरेका छन् । सबैलाई नियमको पालना गर्न र सबैले नियमभित्र रहेर व्यवहार गर्न उनले आग्रह गरेका छन् ।

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here