इमरान खानको शल्यक्रिया गरियो, स्वास्थ्यमा सुधार
१८ कात्तिक, पाकिस्तान । पाकिस्तान तेहरिक इन्साफका नेता तथा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि बिहीबार साँझ पञ्जाब प्रान्तको गुजरानवालामा बन्दुकधारीले आक्रमण गरेका थिए। उनलाई गोली लागेकोले हाल लाहोरको एक अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार बिहान अस्पतालमा उनलाई भेट्न आएका पीटीआईका सिनेटर फैसल जावेदले इमरान खानले उनको शल्यक्रिया गरिएको र उनी पहिलेभन्दा अहिले निको भएको बताएका छन् । फैसल जावेदले ट्वीट गर्दै भने, ‘मैले इमरान खानलाई भेटें। उनको शल्यक्रिया गरिएको छ र अहिले उनी स्वस्थ छन्। उनले आफ्नो देशको लागि अन्तिम साससम्म लड्ने सन्देश दिएका छन्।’
बिहीबार साँझ भएको यस हमलामा पीटीआई नेता फैसल जावेद आफैं पनि घाइते भएका छन् । यसअघि लाहोरको शौकत खानम अस्पताल बाहिर फैसल जावेदले पत्रकारहरूलाई भनेका थिए, ‘यो इमरान खानलाई मार्ने प्रयास थियो। अल्लाहले इमरान खानलाई स्वस्थ राखून्। आक्रमणमा मारिएका पीटीआई कार्यकर्ताको आत्माले शान्ति पाओस् र उनको स्वर्गमा बास होस्।’
फैसल जावेदका अनुसार इमरान खानले शुक्रबार बैठक बोलाएका छन् जसमा उनले आगामी रणनीतिबारे छलफल गर्नेछन्। पाकिस्तानको वजिराबादमा लङ मार्चको कन्टेनर र वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सम्पूर्ण क्षेत्र सिल गरिएको छ । घटनास्थलबाट अन्वेषकहरूले ११ वटा गोली फेला पारेका थिए। तेहरिक–ए–इन्साफका नेता असद उमरले शुक्रबारको नमाजपछि देशभर प्रदर्शन गरिने बताएका छन् । बीबीसी
प्रतिक्रिया दिनुहोस्