युक्रेन युद्ध : गोलाबारीका कारण खेअरसन ‘तनावग्रस्त’
२ कार्तिक, काठमाडौं । युक्रेनमा रुसी सेनाका कमान्डरले त्यहाँको दक्षिणी सहर खेअरसनको अवस्था “कठिन” रहेको र त्यहाँका बासिन्दाहरूलाई स्थानान्तरण गरिने बताएका छन्।
जनरल सर्गेई सुरोभिकिनले युक्रेनी सेनाले हिमर्स रकेटहरू प्रयोग गरेर उक्त सहरको पूर्वाधार र आवासीय भवनहरूमा प्रहार गरिरहेको बताए। उनले रुसको सरकार सञ्चालित टेलिभिजनमार्फत् उक्त जानकारी दिएका हुन्।
“रुसी सेनाले प्राथमिक रूपमा खेअरसन क्षेत्रमा बस्ने मानिसहरूको सुरक्षित निकासी सुनिश्चित गर्नेछ,” उनले भने।
ठूला समस्याहरूबारे उनको दुर्लभ स्वीकारोक्तिलाई एकजना शीर्ष स्थानीय अधिकारीले पुष्टि गरेका छन्।
रुसीहरूद्वारा नियुक्त क्षेत्रीय अधिकारी किरिल स्ट्रेमोसोभले खेअरसनका बासिन्दाहरूलाई “निकट भविष्यमा” युक्रेनी सेनाले सहरमा आक्रमण गर्न सक्ने चेतावनी दिए।
“मेरा शब्दहरूलाई गम्भीरतापूर्वक लिनुहोस् – म सकेसम्म चाँडो यो सहर खाली गर्ने बारे कुरा गर्दै छु,” उनले टेलिग्राम नामक सन्देश आदानप्रदान गर्ने सञ्जालमार्फत् भनेका छन्। उनले निपर नदीको पश्चिमी किनारमा अवस्थित, युक्रेनमा निप्रो भनिने क्षेत्रमा मानिसहरू सबैभन्दा बढी जोखिममा रहेको बताएका थिए।
उक्त क्षेत्रमा रुसले नियुक्त गरेका गभर्नर भ्लादिमिर साल्डोले एक भिडिओ सन्देशमार्फत् उक्त कुरा पुष्टि गरे।
फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध आक्रमण सुरु गरेपछि खेअरसन रुसीहरूले कब्जा गरेको पहिलो ठूलो सहर थियो।
युक्रेनी सेनाले विगत केही सातादेखि त्यहाँ नजिकैको भूभागहरूलाई बिस्तारै पुनः आफ्नो नियन्त्रणमा लिँदै आएको छ।
उनीहरूले रुसी सेनालाई फसाउने धम्की दिँदै निपर हुँदै ३० किलोमिटर दक्षिणतिर अघि बढेका छन्।
“समग्रमा विशेष सैन्य कारबाहीको क्षेत्रमा स्थिति तनावपूर्ण छ भन्न सकिन्छ,” जनरल सुरोभिकिनले भने।
खेअरसन रुसीहरूले उनीहरूको आक्रमणमा कब्जा गरेको एक मात्र युक्रेनी क्षेत्रीय राजधानी हो।
क्रेम्लिनले अहिले खेअरसन र अन्य तीन युक्रेनी क्षेत्रहरू रुसको अंश भएको दाबी गर्छ।
उक्त दाबी अन्तर्राष्ट्रिय रूपमा अस्वीकार गरिएको छ।
पूर्वाधारमा क्षति
कठोर आक्रमण पद्धतिका लागि परिचित जनरल सुरोभिकिनले युक्रेनी क्षेप्यास्त्रको सङ्गठित आक्रमणले खेअरसनस्थित आन्टोनिभ्स्की पुल र काखोभा जलविद्युतको बाँधमा क्षति पुगेको र यी दुई महत्त्वपूर्ण स्थानहरूमा आवागमन अवरुद्ध भएको बताए।
जसका कारण खाद्यान्न वितरण, पानी र विद्युतजस्ता अत्यावश्यक सेवाहरूको आपूर्तिमा समस्या सिर्जना भएको उनले जानकारी दिए।
बीबीसीले भने खेअरसनमा जनरलले व्याख्या गरेको कठिनाइ पुष्टि गर्न सकेको छैन।
उनका अनुसार युक्रेनीहरूले पूर्वमा कुपियान्स्क र लिमानका क्षेत्रहरूमा र दक्षिणमा माइकोलाइभ-क्रिवी रिह मोर्चामा छरिएर लगातार आक्रमणहरू गरिरहेका थिए।
जनरल सुरोभिकिन क्रेम्लिनले युक्रेनमा “विशेष सैन्य कारबाही” भन्ने रुस युद्धको नयाँ कमान्डर हुन्।
रुसको युद्धका एक दिग्गज उनलाई जनरल आर्मागेडनको उपनाम दिइएको छ।
उनले सिरियामा धेरै सर्वसाधारणको ज्यान लिने गरी भएका रुसी बमबारीको नेतृत्व गरेका थिए। उनले चेचन्यामा मानवअधिकार उल्लङ्घनको आरोप लागेको सैन्य बलको पनि कमान्ड गरेका छन्।
जनरल सुरोभिकिनले वक्तव्य दिएको दिन किएभ र अन्य युक्रेनी सहरहरूमा थप रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणहरू भए तीमध्ये धेरै युक्रेनको विद्युत् आपूर्ति प्रणाली लक्षित थिए।
हाल किएभका केही स्थानमा न त विद्युत् छ न त पानी नै।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विगत आठ दिनमा आफ्नो देशका ३० प्रतिशत ऊर्जा केन्द्र ध्वस्त भएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्