स्विडेनकी प्रधानमन्त्रीले दिइन् राजीनामा
३० भदौ, स्टकहोम । आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्विडेनकी प्रधानमन्त्री राजीनामा दिएकी छन् । प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले राजीनामा दिएकी बीबीसीले लेखेको छ ।
सोसियल डेमोक्र्याटिक दलका प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले स्वीडेनको संसद्मा राष्ट्रवादी एवं अध्यागमन विरोधी समूह सम्मिलित दक्षिणपन्थी गुटले झिनो बहुमत पाएपछि राजीनामा दिएकी हुन् ।
एन्डरसनले स्वीडेनको ३४९ सदस्यीय संसद् रिक्सडागका सभामुख एन्ड्रियास नोर्लेनसमक्ष औपचारिकरूपमा आज राजीनामा दिएकी हुन् ।
सभामुखमार्फत उनको राजीनामा स्वीकृत भएको छ । उनले नयाँ सरकार गठन नभएसम्म कामचलाऊ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नेछिन् ।
सभामुख नोर्लेनले आगामी साता पार्टीका नेताहरूसँग वार्ता सुरु गर्ने जानकारी दिएका छन् । उनले दक्षिणपन्थी नेता उल्फ क्रिस्टर्सनलाई गठबन्धन सरकार गठनको प्रयास गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ ।
आइतबारको आम निर्वाचनमा दक्षिणपन्थी समूहले १७६ र बामपन्थी गुटले १७३ स्थानमा जित हासिल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्