अमेरिकामा फेसबुक लाइभ गरी गोली प्रहार, दुईजनाको मृत्यु, कैयौं व्यक्ति घाइते

२३ भदौ, वासिङटन । अमेरिकामा फेसबुकमा लाइभ गरी गोली प्रहार गर्दा दुईजनाको मृत्यु भएको छ। साथै कैयौं व्यक्ति घाइते भएका छन्।

बन्दुकधारीले एक अटोपार्ट्स पसलमा प्रवेश गरी धेरै ग्राहकलाई गोली हाने। पसलमा प्रवेश गर्नुअघि उनले लाइभ गर्दै ‘यो मजाक होइन’ भनेका थिए।

frontline

प्रहरीले गोली प्रहार गर्ने व्यक्ति १९ वर्षीय इजेकिल केली भएको बताएको छ। घटना टेनेसी राज्यको मेम्फिसको हो। आरोपीलाई स्थानीय समयअनुसार राति ९:२८ मा पक्राउ गरिएको हो।

प्रहरी विभागका प्रवक्ता मेजर करेन रुडोल्फले भने‚ ‘उनको उद्देश्य के थियो भन्ने हामीलाई अझै थाहा छैन। उनले गोली प्रहार गरेका हुन् भन्ने हामीलाई मात्र थाहा छ।’

कति जना घाइते भएका छन् भन्ने पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन। घटनापछि उक्त शहरका बासिन्दालाई प्रहरीले घरभित्रै बस्न चेतावनी दिएको थियो। खतराको आशंका गर्दै शहरमा सबै बस तथा यातायात सेवा बन्द गरिएको छ।

टेनेसी प्रहरीले स्थानीय समयअनुसार साँझ ७ बजे अलर्ट जारी गरेको थियो। प्रहरीले ती युवक गोलीकाण्डका कैयौँ घटनामा जिम्मेवार रहेको बताएको थियो।

गोली चलाउँदा उनी नीलो रंगको इन्फिनिटिया कारमा थिए। गोली प्रहार गरेपछि कार परिवर्तन गरी खैरो टोयोटा कारमा चढेको प्रहरीले बताएको छ।

मेम्फिस विश्वविद्यालयले सबै विद्यार्थीलाई उक्त आक्रमणको सन्देश जारी गरेको थियो। विश्वविद्यालयले विद्यार्थीलाई क्याम्पस बाहिर ननिस्कन आग्रह गरेको थियो।

वासिङटन पोष्टका अनुसार मेम्फिसमा विगत केही हप्तामा कैयौँ पटक गोली आक्रमण भएका छन्। दिउँसै पादरीको हत्या र पैसाको विषयमा विवाद हुँदा एक कार्यकर्ताको हत्या भएको थियो। यसका साथै प्रातभ्रमणमा निस्किएकी एक महिलाको अपहरणपछि हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here