केहीले साथ दिए भन्दैमा जनतालाई दुःख दिने काम नगर्न मेयर साहलाई नेता बस्नेतको चेतावनी
११ भदौ, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयरहरुले नक्शा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौंबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको बताउनुभयो ।
उहाँले केही मानिसले साथ दिए भन्दैमा कानून मिचेर जनतालाई दुःख दिने काम नगर्न काठमाडौंका मेयर बालेन्द्र साहलाई चेतावनी दिनुभयो ।
उहाँले आफ्नो निर्वाचन क्षेत्रमा ध्वसात्मक गतिविधि नगरी निर्माण गरेरै सुन्दर बस्ती बनाएको दावी गर्नुभयो । नेता बस्नेतले संविधानमा दुईपटक भन्दा बढी प्रधानमन्त्री वा सांसद हुन नपाउने गरी व्यवस्था गर्न माग समेत गर्नुभयो ।
उहाँले प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरु कति पटक हुने भन्ने नीति नै निर्माण गरेर जान आह्वान गर्नुभयो । नेता बस्नेतले संक्रमणकालिन न्यायसम्बन्धी विधेयक पीडकमैत्री बनाउन खोजिएको आरोप समेत लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्