निर्वाचन सुरक्षाका लागि २६ सय हतियार, १ लाख २० हजार म्यादी प्रहरीको माग

६ भदौ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि सरकारसँग एक लाख २० हजार म्यादी प्रहरी माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार केही दिनअघि गृह मन्त्रालयलाई त्यसबारे प्रस्ताव पठाइएको छ । यसअघि स्थानीय निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख १८ हजार म्यादी प्रहरी माग गरेकामा सरकारले एक लाख मात्र नियुक्त गर्ने निर्णय गरेको थियो ।

frontline

प्रहरी महानिरीक्षक (आईजीपी)ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान केन्द्रको संख्या बढ्न सक्ने भन्दै म्यादी प्रहरीको संख्या पनि बढी आवश्यक पर्ने गत साता आयोजित पत्रकार सम्मेलनमा बताएका थिए ।

‘अर्थ मन्त्रालयले यस पटक पनि हामीले प्रस्ताव गरेको संख्यामा आनाकानी गरिरहेको भन्ने कुरा सुनिएको छ तर पर्याप्त जनशक्ति नहुँदा निर्वाचन सुरक्षामा समस्या आउन सक्छ भन्ने कुरा बुझ्नु पर्छ’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने ।

मतदानका बेला मतदान स्थलको भित्री सुरक्षा घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटिन्छन् ।

मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी र म्यादी प्रहरी संयुक्त रूपमा परिचालन गर्ने गरिएको छ । यसै गरी प्रहरी प्रधान कार्यालयले सरकारसँग २६ सय हतियार माग गरेको छ ।

निर्वाचन सुरक्षाका लागि २६ सय हतियार अपुग रहेको भन्दै प्रहरी प्रधान कार्यालयले त्यसबारे सरकारलाई जानकारी गराएको हो ।

यसअघि स्थानीय निर्वाचनका बेला नेपाल प्रहरीले नेपाली सेनासँग हतियार मागेर निर्वाचन सुरक्षा गरेको थियो । नेपाल प्रहरीले नेपाली सेनासँग २ हजार थान हतियार माग गरेकामा एक हजार थान मात्र उपलब्ध गराएको थियो ।

यस पटक पनि सेनासँग मागेर निर्वाचन सुरक्षा गर्ने तयारी नेपाल प्रहरीको छ । ‘सरकारलाई जानकारी गराए पनि त्यो अहिले आपूर्ति हुन छाँटकाँट देखिएको छैन।

हामीले नेपाली सेनासँग मागेर काम चलाउने हो’, प्रहरी प्रधान कार्यालयका ती अधिकारी भन्छन् । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षाका लागि १४ सय वटा साना ठुला गाडी माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here