बिष्णु भण्डारीको नेतृत्वमा योगदान राष्ट्रका लागिको अन्तर्राष्ट्रिय समन्वय समिति गठन
फ्रन्टलाइन, काठमाडौँ । प्राथमिक उपचार हाम्रो सरोकार भन्ने मुल नाराका साथ अभियानको रुपमा देशभर फैलिएको सामाजिक संस्था योगदान राष्ट्रका लागिले अन्तर्राष्ट्रिय समन्वय समिति गठन गरेको छ । योगदान राष्ट्रका लागिका केन्द्रिय सचिव बिष्णु भण्डारीको अध्यक्षतामा अन्तर्राष्ट्रिय समन्वय समिति गठन भएको हो । यस्तै अन्तर्राष्ट्रिय समन्वय समितिको उपप्रमुखमा निराजन खत्री मनोनित हुनुभएको छ । योगदान राष्ट्रका लागिका संस्थापक अध्यक्ष ओम उप्रेतीले बुधबार साँझ प्रमुखमा भण्डारी र उपप्रमुखमा खत्री मनोनित भएको घोषणा गर्नुभयो । यससंगै अब संसारभरका कुनै पनि मुलुकमा रहेका नेपालीहरु यस अभियानमा जोडिन सक्ने बाटो खुलेको योगदान राष्ट्रका लागिका संस्थापक अध्यक्ष उप्रेतीले बताउनुभयो ।
योगदान राष्ट्रका लागिको अन्तर्राष्ट्रिय समितिको गठन अब तिव्र रुपमा अघि बढाइने भएको छ । जसको शुरुवात युएईबाट हुँदैछ । आगामी आइतबार गठन हुने सो समितिको अध्यक्षमा युएईमा रहँदै आउनुभएका समाजसेवी व्यक्तित्व कमल गौतम मनोनित हुनुभएको छ । संस्थाको केन्द्रिय समिति र अन्तर्राष्ट्रिय समन्वय समितिको निर्णयबाट उहाँलाई अध्यक्षको जिम्मेवारी दिने तय गरिएको अध्यक्ष उप्रेतीले जनाउनुभयो ।
छोटो समयमै देश विदेशका नेपाली समुदायमाझ लोकप्रिय सामाजिक संस्था र अभियानका रुपमा आफुलाई सुपरिचित गराउन सफल योगदान राष्ट्रका लागि प्राथमिक उपचार बारे सचेतना प्रवाहका साथै हर किसिमका विपद एवम् सामाजिक सरोकारका कार्यहरुमा सक्रिय रहँदै आएको एउटा सामाजिक संस्था हो । जसले राष्ट्र र सम्पुर्ण नागरिकको हितका लागि महत्वपुर्ण कार्य गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्