नगर प्रमुखको मासिक तलब भत्ता विपन्न नागरिकलाई
१ साउन, पाँचथर । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले मासिक तलब र भत्ता बापतको रकम विपन्न नागरिकलाई उपलब्ध गराएका छन् ।
उनले पहिलो दुईमध्ये एक महिनाको तलब भत्ताबापत प्राप्त रकम फिदिम ४ मा सञ्चालित जागृति आधारभूत विद्यालयको आवासमा बसोबास गर्ने छात्रछात्राका लागि लुगा धुने वासिङ मेसिन खरिद र अर्को एक महिनाको रकम फिदिमका युवाहरुद्वारा सञ्चालित ‘हुनेले दिने, नहुनेले लिने अभियान’लाई हस्तान्तरण गरेका छन् ।
काफ्लेले जागृती आधारभूत विद्यालयमा वासिङ मेसिन किन्न प्रधानाध्यापक डिल्ली लुइँटेलमार्फत ३५ हजार र विपन्न नागरिकलाई सहयोग गर्दै आएको हेल्प टुगेदरका पदाधिकारीमार्फत ३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।
जागृती आ.वि.मा नगर क्षेत्रका विपन्न समुदायका ३० जना छात्रछात्रा अध्ययनरत छन् भने हेल्प टुगेदरमा आबद्व युवाहरुले विपन्न समुदायका नागरिकको आवश्यकता पहिचान गरी खाद्यान्न र लत्ताकपडा उपलब्ध गराउँदै आएको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनताका उम्मेदवारी घोषणाका क्रममा काफ्लेले जनप्रतिनिधिले प्राप्त गरेको तलब भत्ताबापतको रकम विपन्न,असहाय र असक्तसँगै अपांगता भएका नागरिकको सहयोगमा खर्च गर्ने प्रतिबद्वता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्