ताप्लेजुङ खेवाङको पहिरोमा गम्भीर घाइते अधिकारीको हेलिकप्टरबाट उद्धार

३ असार, ताप्लेजुङ । ताप्लेजुङको खेवाङमा गएको पहिरोमा परी गम्भीर घाइते भएका विष्णु अधिकारीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
अधिकारीलाई नेपाली सेनाको हेलिकप्टरले थप उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।




घटनास्थलबाट उद्धार गरेर उनलाई जिल्ला सदरमुकाम फुङ्लिङ ल्याइएको थियो। यहाँ प्राथमिक उपचारपश्चात् थप उपचारका लागि विराटनगर लगिएको छ।
त्यस्तै पहिरोले बेपत्ता बनाएका सोही घरका सासू र बुहारीको शव भेटिएको छ। बिहान स्थानीय र प्रहरीले शव फेला पारेका थिए ।
उनीहरु दुवैजनाको शवलाई हेलिकप्टरमार्फत नै पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी कैलाश राईले बताए।
पहिरोका कारण वडाभरिका ३० घर परिवार विस्थापित भएका वडाध्यक्ष वुद्धिदाहाल बताउँछन्। बिहानको मौसम खुलेकाले केही राहत भएको तर खोलाहरु बढेकाले तर्न सक्ने अवस्था नभएको दाहालले जानकारी दिए ।
परिवारका अरु सदस्य झापामा बसाइ गएकाले घरमा आमा छोरो र बुहारी गरी तीनजना मात्रै बस्दै आएका थिए।
यता वाड नं ८ मामांखेमा अलैंची बगानबाट झरेको पहिरो बस्ती छेउमा पुगेको तर घरमा क्षति भने नभएको स्थानीय शिक्षक देउमान मावोले बताए।
फक्ताङलुङ गाउँपालिका ३ लिंखिमको सिंवाका ६० जनाले रात सिंवा माध्यमिक विद्यालयमा बिताएको प्रधानाध्यापक ओमनाथ गौतम बताउँछन्।
तमोर नदीमा पानीको सतह बढेर आएपछि र सिंवा बजारको पल्लो छेउमा माथिबाट पहिरो र लेदो झरेपछि स्थानीय विद्यालयमा आएर बसेका हुन्। पहिरोले फक्ताङलुङ २ खेजेनिम चाखुमा दुई वटा खानेपानीको मुहान बगाएको छ ।
४५ परिवार खानेपानीबाट बञ्चित भएको खेजेनिमका जगन पौडेलले जानकारी दिए। पौडेलका अनुसार मेथेम खोला पावर हाउसको ३० मिटर पाइप बगाउँदा सात सय परिवार विद्युत् सेवावाट बञ्चित भएका छन् ।
सिवादेखि तापेथोक जोड्ने सडकको अधिकांश भागमा पहिरो देखिएको र यातायात पूर्ण अवरुद्ध भएको पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्