साउदीका परराष्ट्रमन्त्री फैजल बिन फरहान बिन साउद आज नेपाल आउदै

३० फागुन, काठमाडौं । साउदी अरबका राजकुमार एवं परराष्ट्रमन्त्री फैजल बिन फरहान बिन साउद आज नेपाल आउदैछन् ।

उनी नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । साउदीका परराष्ट्रमन्त्री साउदले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्ला बेग्लै भेटवार्ता गर्ने र अन्तिममा समकक्षी परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

frontline

परराष्ट्रमन्त्री खड्काले आफ्ना समकक्षीका लागि चैत १ गते बैठकका साथ उनको प्रतिनिधिमण्डलको सम्मानका लागि दिवाभोजको आयोजनासमेत गर्ने जनाइएको छ ।

साउदीका परराष्ट्रमन्त्रीको भ्रमण टोलीमा दुई दर्जन अधिकारी रहने बताइएको छ । हाल दक्षिण एसियाली मुलुकको भ्रमणका रहेका मन्त्री साउद नेपाल भ्रमणमा पनि आउन लागेका हुन् । उक्त भ्रमणका क्रममा (हिजो) आइतबार श्रीलंका आइपुगेको जनाइएको छ ।

उनी श्रीलंकाको राजधानी कोलम्बोबाट सोमबार (आज) अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रने जनाइएको छ । उनलाई नक्सालस्थित होटल म्यारियटमा बस्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

उनको भ्रमणका क्रममा नेपालले एक सम्झौतामा हस्ताक्षर गर्ने र दुई नेपालीलाई आम माफी दिन आग्रह गरिने जनाइएको छ ।

मन्त्री साउद र नेपाल सरकारबीच जेनरल कोअपरेसन एग्रिमेन्ट (जीएसए) मा हस्ताक्षर हुने भएको हो ।

उक्त सम्झौतामा हस्ताक्षर गर्न गतसाता बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति गरिसकेको छ ।

त्यस्तै परराष्ट्रमन्त्रालयले दिएको जानकारी अनुसार परराष्ट्रमन्त्री साउदसँग मृत्युदण्डको सजाय दिने फैसला भएका दुई नेपालीलाई आम माफी दिन आग्रहसमेत गरिनेछ ।

ती नेपालीहरु हाल मृत्युडण्ड कुरेर फरक फरक जेलमा बसेका छन् । शनिबार मात्रै साउदी अरबले एकै पटक ८१ जना व्यक्तिलाई फरक फरक मुद्धामा मृत्युदण्डको सजाय दिएको बताइएको छ ।

नेपालको बैदेशिक रोजगारीको प्रमुख गन्तब्य रहेको साउदीमा हाल झण्डै पाँच लाख नेपाली कार्यरत रहेका छन् ।
यद्यपि नेपाल र साउदी अरब सरकारबीच श्रम सम्झौता भएको छैन ।

एक दिने भ्रमणकमा आउन लागेका परराष्ट्रमन्त्री साउदको यो भ्रमण १२ वर्ष यताकै उच्चस्तरिय भ्रमण हो । यसअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित पनि गरेको थियो।

यसबीचमा नेपाल र साउदीको उच्चस्तरिय भ्रमण कमै भएको छ । त्यसअघि भने नेपालको तर्फबाट उच्चस्तरिय भ्रमण भएको थियो । सन् १९८३ मा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य साउदीको औपचारिक भ्रमणमा गएका थिए।

त्यसयता नेपालका तर्फबाट सामान्य भ्रमणहरु भने भएका छन् । यद्यपि उच्चस्तरिय भ्रमण भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here