नेपालमा नै उत्पादन हुन थाल्यो स्वदेशी कपडाको प्रयोग गरेर सुरक्षाकर्मीको पोसाक

१६ फागुन, वीरगञ्ज (पर्सा) । विगतमा छिमेकी मुलुक चीन तथा भारतबाट आयात हुने गरेको कपडाहरु पछिल्लो समय नेपालमा नै उत्पादन हुन थालेको छ ।

नेपालमा साना र ठूला उद्योग गरी करिब २ सयको हाराहारीमा कपडा उधोगहरु सञ्चालनमा रहेका छन् ।

frontline

अर्बौंको लगानी रहेको कपडा उद्योगहरुबाट वार्षिक २ करोड मिटर कपडाको उत्पादन हुने गरेको छ, भने नेपाललाई वार्षिक १ सय ५० करोड मिटर कपडाको आवश्यक्ता पर्दछ ।

नेपाल सरकारको तथ्याङ्क अनुसार वार्षिक २० देखि २२ करोड मिटर कपडा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने गरेको छ ।

पछिल्लो समय नेपालमा उत्पादन भएका कपडाहरु गुणस्तरीय हुने भएकोले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आपना सुरक्षाकर्मीको पोसाकको लागि स्वदेशी कपडाकै प्रयोग सुरु गरेका छन् ।

नेपालको तीन वटै सुरक्षा निकायले विभागीय पोसाकको लागि नेपाली कपडा नै प्रयोग गर्ने निर्णय पश्चात नेपाली उद्योगले सुरक्षाकर्मीलाई आवश्यक पर्ने कपडाको उत्पादन सुरु गरेको छ ।

बाराको जितपुर सिमरा उप–महानगरपालिका–९ स्थित छाता पिपरामा अवस्थित कोहिनुर टेक्सटाइल्सले नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको पोसाक उत्पादन गर्दै आएको छ ।

करिब ६ महिनाअघि भारतबाट ५ करोडको लागतमा खरिद गरिएको अत्याधुनिक प्रिन्ट मेसिनबाट सुरक्षाकर्मीहरुको लागि पोसाक उत्पादन भइरहेको कोहिनुर टेक्सटाइल्सका सञ्चालक पिताम्बर मुन्काले बताए ।

उक्त टेक्सटाइल्सबाट नेपाली सेनाका लागि ६ लाख मिटर, सशस्त्र प्रहरीका लागि ६० हजार र नेपाल प्रहरीका लागि ५ लाख मिटरको कपडा उत्पादन गरेर चालू आर्थिक वर्ष भित्रमा सुरक्षाकर्मीलाई दिने तयारीमा रहेको छ ।

उद्योगी मुन्काका अनुसार सुरक्षाकर्मीको लागि आयात हुने गरेको पोसाक बापत् करिव ५० करोड रुपैया बाहिरिने गरेकोमा अब स्वदेशमै उत्पादन भइरहेकोेले सो रकम स्वदेशमै रहने बताए ।

पोसाक उत्पादन गर्दा चाहिने कच्चा पदार्थ धागो र डाई (रंग) भारतको सुरत, मुम्बई, गुजरात, महाराष्ट्रबाट आयात हुने गरेको छ ।

हालको लागि दिनको १२ घण्टामा १५ हजार मिटर कपडा उत्पादन हुने गरेको भएपनि २४ घण्टाको अवधिमा ३० हजार मिटर कपडा उत्पादन गर्नसक्ने र प्रत्येक वर्ष ८० लाख मिटरसम्मको कपडा उत्पादन गर्नसक्ने क्षमता उद्योगको रहेको सञ्चालक मुन्काले बताए ।

जबकि उक्त उद्योगमा ३ सयको हाराहारीमा कामदारहरु रहेका छन् । नेपालमा कपडा उद्योगको अवस्था चिन्ताजनक रहेको छ ।

कपडा उत्पादनकै कारण मुलुकको विकास भएको ज्वलन्त उदाहरण बंगलादेश रहेको छ ।

तर, नेपाल सरकारले अन्य उद्योगहरुलाई प्राथमिकतामा राखेपनि कपडा उद्योगलाई नराखेको उद्योगीहरुको गुनासो छ ।

मुलुकको विभिन्न नाकाहरुबाट ८० प्रतिशत भन्दा बढी कपडा तस्करी कै हुने गरेकोले आफूहरु मर्कामा परेको उद्योगीहरु बताउछन् ।

स्वदेशी उत्पादन गुणस्तीय भएपनि छिमेकी मुलुक चीन र भारतबाट कपडा आयात हुने क्रम नरोकिएकोले स्वदेशी उद्योगहरु ओझेलमा परेका छन् ।

सरकारले विद्युत र व्याजमा छुट दिने भनेपनि यसको कार्यान्वयन हुन नसकेको कारण कपडा उद्योगहरु बन्द हुने अवस्थामा पुगेको गुनासो उद्योगीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here