सत्ता गठबन्धन संयन्त्रको बैठक बस्दै
३० कार्तिक, काठमाडौं– सरकार सञ्चालनमा सहयोग गर्न गठन गरिएको सत्ता गठबन्धनको संयन्त्रको बैठक बस्दैछ। संयन्त्रको पहिलो बैठक मंगलबार दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो।
गत कात्तिक २२ गते सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै ११ सदस्यीय राजनीतिक संयन्त्र (समन्वय समिति) गठन गरेको थियो।
गठबन्धनमा रहेका सबै दलको प्रतिनिधित्व हुने गरी संयन्त्र गठन गरिएको छ। गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट २–२ जना सदस्य रहनेछन्। यस्तै, मन्त्रिपरिषद्बाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सदस्य रहनेछन्।
नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल (प्रचण्ड) र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधव कुमार नेपालसहित १ जना, जनता समाजवादीबाट उपेन्द्र यादवसहित १ जना तथा जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल संयन्त्रका सदस्य हुने जनाइएको छ।
संयन्त्रको नेतृत्व सबै दलले २–२ महिनाका लागि गर्ने सहमति भएको छ। अहिलेका लागि कांग्रेसबाट रामचन्द्र पौडेल संयन्त्रको संयोजक रहेका छन्। २ महिनापछि माओवादी केन्द्रले र त्यसपछि क्रमश एकीकृत समाजवादी, राजपा र जनमोर्चाले आलोपालो संयन्त्रको नेतृत्व गर्ने सहमति जुटेको छ।
प्रतिक्रिया दिनुहोस्