ओमानमा नेपाली क्रिकेट टिमको तयारी
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी)सँगको एकदिवसीय खेलका लागि नेपाली क्रिकेट टिम हाल ओमानमा छ ।
सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी समेत शुरु गरेको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित लिग–२ सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ ।
ओमान पुगेपछि नेपाली खेलाडी र अफिसियलको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि टोलीले बिहीबार प्रशिक्षण शुरु गरेको हो ।
नेपालले लिग–२ सिरिजअघि पीएनजीसँग सेप्टेम्बर ५ र ८ मा एकदिवसीय खेल खेल्नेछ । त्यसपछि नेपालले लिग–२ अन्तर्गत पहिलो खेल अमेरिकासँग सेप्टेम्बर १३ मा खेल्नेछ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा यस पटक १७ सदस्यीय टोली ओमान गएको छ । जसमा गुल्शन झा नयाँ अनुहारको रुपमा छन् । गुल्शनसँगै विक्रम सोव, कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न बाँकी छ ।
गत वैैशाखमा नेपालमै भएको टी–२० त्रिकोणात्मक सिरिजमार्फत टी २० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै ओपनिङ गरेका कुशल भुर्तेल र आसिफ शेखले यस पटक एकदिवसीय अन्तर्राष्ट्रियमा पनि ओपनिङ गर्ने सम्भावना छ ।
सन् २०२० फेब्रुअरीमा नेपालमै लिग २ को सिरिज खेलेपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।
तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ (क्यान)
प्रतिक्रिया दिनुहोस्