डाक्टरी पढाइले थिचिँदै अभिभावक
काठमाडौं : वृद्ध अभिभावकको उपचार र दुई छोराको उज्ज्वल भविष्य सुनिश्चित गर्न तनहुँका भीष्मकान्त भण्डारी दम्पतीले वैदेशिक रोजगारी रोजे। समाजशास्त्रमा स्नातकोत्तर गरेका भण्डारी स्वदेशमै मासिक झन्डै ५० हजार रुपैयाँ कमाउँथे। तर, दुई छोराले भविष्यमा एमबीबीएस पढ्न चाहेमा स्वदेशको कमाइले खर्च धान्न नसक्ने निष्कर्षमा पुगेपछि उनी जापान हानिए।
४९ वर्षीय भण्डारीको स्वदेशको कमाइले घरखर्च चलाउनै ठिक्क हुन्थ्यो, बचत हुँदैनथ्यो। ‘छोराहरूलाई आफूले चाहेको विषय पढाउन सकिने अवस्था थिएन,’ भण्डारी भन्छन्, ‘त्यसैले विदेश जाने सोच बनाएँ। ९ वर्षको कमाइपछि अहिले दुवै छोराले जे पढ्न चाहे पनि पढाउन सक्ने आँट आएको छ।’ दुई छोरालाई बुवाआमाको जिम्मा लगाएर जापान पुगेका भण्डारी दम्पती अहिले मासिक झन्डै ५ लाख रुपैयाँ कमाउँछन्। जेठा छोरा विक्रमले गत वर्ष एमबीबीएसमा पेइङतर्फ नाम निकालेका थिए। तर, परिवारको आर्थिक अवस्थालाई ध्यानमा राख्दै उनले छात्रवृत्तिमा पढ्ने योजना बनाए। यस वर्ष छात्रवृत्तिमा नाम निकालेपछि भण्डारी परिवार खुसी छ।
भण्डारीको अनुभव नेपाली मध्यमवर्गीय परिवारको एउटा प्रतिनिधिमूलक केस हो। छोराछोरीलाई उच्च शिक्षा, त्यसमा पनि चिकित्सा शिक्षा पढाउने सपना पूरा गर्न अभिभावक विदेशमा श्रम गर्न बाध्य छन्। विदेशमा पसिना बगाएर कमाएको रकमले स्वदेशमा छोराछोरीको भविष्य सुरक्षित गर्नुपर्ने अवस्था छ।
वैदेशिक रोजगारीमा रहेका अभिभावकले तुलनात्मक रूपमा बढी कमाइ गरेर सन्तानलाई निजी मेडिकल कलेजमा पेइङमा पढाउने आँट गर्न सक्छन्। तर, स्वदेशमै रोजगारी गरेर परिवार पालिरहेका मध्यमवर्गीय अभिभावकका लागि निजी मेडिकल कलेजको शुल्क ठूलो आर्थिक भार बनिरहेको छ। कतिपयले घरजग्गा बेच्नुपर्ने, ऋण खोज्नुपर्ने वा छोराछोरीको डाक्टर बन्ने सपना नै स्थगित गर्नुपर्ने अवस्था छ।
एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र र बाहिरका शिक्षण संस्थाको शुल्क फरक छ। गत वर्ष आयोगले एमबीबीएस (उपत्यकाभित्र) ४१ लाख ६८ हजार ९० रुपैयाँ र उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७ सय २० रुपैयाँ शुल्क तोकेको थियो।
आयोगले तोकेको शिक्षण शुल्कमा भर्ना, शिक्षण, प्रयोगशाला, पुस्तकालय, तालिम र परीक्षा शुल्क समावेश हुन्छ। शिक्षण शुल्कबाहेक विद्यार्थीले आवास, खाना, यातायात र अन्य व्यक्तिगत खर्च पनि बेहोर्नुपर्ने हुन्छ। होस्टेलमा बस्नै पर्ने बाध्यता नभए पनि अध्ययनका क्रममा लाग्ने अतिरिक्त खर्चले परिवारको आर्थिक भार बढाउँछ। डाक्टर बन्न चाहने विद्यार्थीको संख्या ठूलो भए पनि स्वदेशमा उपलब्ध सिट सीमित छन्।
अर्कोतिर, आर्थिक पहुँच कमजोर भएका कारण योग्य विद्यार्थीसमेत चिकित्सा शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित हुने जोखिम छ। यस्तो अवस्थामा चिकित्सा शिक्षा सहज र पहुँचयोग्य बनाउनेतर्फ नीतिगत पहल हुनु साटो निजी मेडिकल कलेजहरू भने सिट थप्न र शिक्षण शुल्क बढाउन सरकारमाथि दबाब दिइरहेका छन्।
शुल्क बढाउन सरकारसँग बार्गेनिङ
निजी मेडिकल तथा डेन्टल कलेजहरूले चिकित्सा शिक्षा ऐनअनुसार शिक्षण शुल्क पुनरावलोकन तथा समायोजन नभएसम्म एमबीबीएसलगायतका चिकित्सा शिक्षा कार्यक्रममा विद्यार्थी भर्ना लिन नसक्ने भन्दै सरकारसँग बार्गेनिङ गरिरहेका छन्।
निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन ‘एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल’ का अध्यक्ष ज्ञानेन्द्रमान सिंह कार्कीले हाल कायम शिक्षण शुल्कमा विद्यार्थी भर्ना गरी कार्यक्रम सञ्चालन गर्न आर्थिक तथा व्यावहारिक कठिनाइ रहेको बताए। डा. कार्कीका अनुसार चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि निर्धारण गरेको सिटको आधार र मूल्यांकन प्रक्रिया पारदर्शी हुनुपर्ने माग रहेको छ।
एसोसिएसनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम २३ अनुसार शिक्षण शुल्क पुनरावलोकन गर्नुपर्ने, अन्यथा अध्यापन सुचारु गर्न नसक्ने अडान लिएको छ।
ऐनमा शिक्षण शुल्क निर्धारण गर्दा शिक्षण संस्थाको वास्तविक लागत, सञ्चालन खर्च, मुद्रास्फीति, भौगोलिक अवस्था तथा छात्रवृत्ति र निःशुल्क सेवाको भारलाई समेत ध्यान दिनुपर्ने व्यवस्था रहेको छ। तर, शैक्षिक सत्र २०७८÷७९ देखि शिक्षण शुल्क पुनरावलोकन तथा समायोजन हुन सकेको छैन। चिकित्सा शिक्षा आयोगको १८औं पूर्ण बैठकबाट गठित शुल्क तथा सिट पुनरावलोकन कार्यदलले स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको शुल्क पुनरावलोकन गर्न सिफारिस गरे पनि कार्यान्वयन नभएको डा. कार्कीको दाबी छ।
त्यस्तै, आयोग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सन् २०२५ मा भएको समझदारीअनुसार सन् २०२६ देखि ऐनअनुरूप शिक्षण शुल्क निर्धारण तथा समायोजन गर्ने सहमति पनि कार्यान्वयन नभएको कार्कीले बताए।
डा. कार्की भन्छन्, ‘विगत ५ आर्थिक वर्षमा मुद्रास्फीति दरका आधारमा कुल मूल्यवृद्धि करिब २६ प्रतिशत पुगेको छ। शिक्षक तथा कर्मचारीको पारि श्रमिक, विद्युत्, इन्धन, परीक्षा सञ्चालन, विश्वविद्यालय शुल्क, प्रयोगशाला, उपकरण र अस्पताल सञ्चालनको लागत बढेको छ।’
डा. कार्कीले स्नातक तह (एमबीबीएस र बीडीएस) मा विद्यार्थी भर्ना गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्नसमेत हालको शुल्क संरचनाले समस्या पारेको बताए। उनी थप्छन्, ‘निजी मेडिकल कलेजले छात्रवृत्ति, निःशुल्क शय्या, स्वास्थ्य शिविरलगायत सामाजिक दायित्वसमेत निर्वाह गर्नुपर्ने भएकाले अहिलेको शुल्क संरचनाबाट संस्था सञ्चालन गर्न कठिन छ।’
शिक्षण शुल्क पुनरावलोकनसँगै चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठान र निजी मेडिकल तथा डेन्टल कलेजका प्रतिनिधि सम्मिलित संयुक्त बैठक तत्काल आयोजना गर्नुपर्ने डा. कार्की बताउँछन्। डा. कार्की भन्छन्, ‘विगत १० वर्षमा दुई लाख शुल्क बढेको छ। जबकि यो अवधिमा मूल्यवृद्धि ह्वात्तै बढेको छ। शुल्क नबढाएर कलेज सञ्चालन गर्नै नसकिने अवस्था छ।’
मागभन्दा उत्पादन धेरै
तीन वर्षअघि चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको ‘नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण (२०७९–२०८७)’ प्रतिवेदनमा मुलुकमा आवश्यकताभन्दा बढी चिकित्सक उत्पादन भइरहेको उल्लेख छ। २०८७ सालसम्म नेपाललाई एमबीबीएस, बीडीएस र स्नातकोत्तर तहका गरी जम्मा ३२ हजार चिकित्सक आवश्यक पर्ने आकलन गरिएको छ। अहिले नै नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या ४२ हजारभन्दा बढी छ।
यस वर्ष एमबीबीएस प्रवेश परीक्षामा १० हजार ३ सय २१ जना उत्तीर्ण हुँदा स्वदेशका कलेजमा सिट संख्या छ– २ हजार ७ सय ४५। अब मेरिटमा पर्नेहरूले छात्रवृत्तिमा पढ्न पाउने छन्। मेरिटमा पछि परेकाहरूले कि एक वर्ष पर्खेर पुनः प्रतिस्पर्धा वा अन्य विषय रोज्नुपर्ने छ। तेस्रो विकल्पका रूपमा चिकित्सा शिक्षा अध्ययन गर्न विदेशलाई गन्तव्य बनाउनुपर्ने छ।
एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की भने नेपाली चिकित्सकहरूले स्वदेश र विदेशमा सेवा गरिरहेको उल्लेख गर्दै तथ्यांकमाथि नै प्रश्न गर्छन्। डा. कार्कीका अनुसार अहिले अमेरिका, अस्ट्रेलिया, बेलायत, दुबई, कतार, बहराइन, साउदी, माल्दिभ्सलगायतका मुलुकमा समेत नेपाली चिकित्सक कार्यरत छन्।
‘मुलुकमा कति चिकित्सक आवश्यक छ भन्ने कुराको यथार्थ सरकारी तथ्यांकले दिँदैन,’ डा. कार्की भन्छन्, ‘कैयौं चिकित्सक बिदेसिएका छन्। कतिपयको निधन भइसकेको छ। ती सबैलाई अहिले स्वदेशमै र जीवितै रहेको आधार बनाइएको तथ्यांक तयार पारिनु नै त्रुटिपूर्ण छ। अहिले पनि बजारमा एमबीबीएस उत्तीर्ण गरेका मेडिकल अफिसरको अभाव छ। बेरोजगार कोही छ भने म जागिर दिन्छु।’






प्रतिक्रिया दिनुहोस्