धेरै नै महँगो छ सार्वजनिक बिदा, तर हिसाब कसैले गरेको छैन

नेपालमा संसारका लगभग सबै देशभन्दा बढी सार्वजनिक बिदा छन्। गृह मन्त्रालयले हरेक वर्ष करिब ३५ वटा राष्ट्रिय सार्वजनिक बिदा नेपाल राजपत्रमार्फत घोषणा गर्छ। थुप्रै देशमा सामान्यत वर्षमा १३ दिन सार्वजनिक बिदा हुन्छ।

सन् २०२६ को विश्वव्यापी गणनामा सबैभन्दा धेरै बिदा रहेको म्यानमारमा ३० दिन बिदा छ। त्यो गणनामा नेपाल समावेश नहुनुको कारण नेपालको २०२६ को पात्रो अझै प्रकाशित नभएर मात्र हो। तर नेपाल प्रायः सबैभन्दा धेरै बिदा हुने देशमा पर्छ भनी त्यसले उल्लेख गरेको छ।

frontline

धेरै नेपाली यो कुरालाई ठट्टा वा गर्वको विषय ठान्छन्। तर यसलाई ठट्टाका रुपमा होइन, गम्भीर भएर हेर्नुपर्छ। हरेक बिदाको एउटा लागत हुन्छ र राज्यले त्यो लागत कहिल्यै नापेको छैन।

यो वर्ष समस्या झनै ठूलो भएको छ। अप्रिल ६ देखि सरकारी कार्यालय शनिबार र आइतबार दुवै दिन बन्द हुन्छन्। हप्तामा ४० घण्टा काम पुर्‍याउन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बनाइएको छ। हप्तामा हुने बिदा वर्षमा ५२ दिनबाट बढेर १०४ दिन पुगेको छ। चाडपर्व र स्थानीय बिदा जोड्दा कार्यालय वर्षमा करिब १४५ दिन बन्द हुन्छन्, अर्थात् वर्षको झन्डै ४० प्रतिशत समय। कार्यालय समय लामो बनाउँदा दोस्रो साप्ताहिक बिदाको घण्टा त पूरा हुन्छ। तर त्यसमाथि थपिएका चाडपर्वका बिदाको क्षति भने पूरा हुँदैन।

बिदाको पक्षमा दिइने तर्कलाई पनि निष्पक्ष रूपमा सुन्नुपर्छ। चाडपर्वले परिवार र समुदायलाई जोडेर राख्छन्। धेरै धर्म र जातजाति भएको देशमा साझा पात्रोले सबैलाई यो देश हाम्रो हो भन्ने अनुभूति दिन्छ। नेपाल गणतन्त्र भएपछि राज्यले विभिन्न समुदायका चाडपर्वलाई सार्वजनिक बिदा दिएर मान्यता दिँदै आएको छ। बिदाले आर्थिक स्रोत र गतिविधिलाई पनि चलायमान बनाउँछ। मानिसहरू घर जान्छन्, अनि दशैँ र तिहारमा लुगा, खानेकुरा, खसी र उपहारमा खर्च गर्छन्। यी साँच्चैका फाइदा हुन्, त्यसैल म तिनलाई बेवास्ता गर्दिनँ।

तर बिदाले खर्च बढाउँछ भन्ने तर्क बलियो छैन। आर्थिक वर्ष २०८२/८३ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ९० प्रतिशत अन्तिम उपभोगमा खर्च हुन्छ। रेमिट्यान्सको हिस्सा जीडीपीको करिब ३३ प्रतिशत छ। त्यसैले चाडपर्वमा हुने धेरै खर्च विदेशमा कमाएको पैसाबाट आउँछ। त्यसको ठूलो भागले विदेशबाट आएका सामान किन्छ, त्यसैले त्यसले सिर्जना गर्ने माग देशबाहिर चुहिन्छ। अझ महत्त्वपूर्ण कुरा, बिदाले खर्चलाई प्रायः एक हप्ताबाट अर्को हप्तामा सार्ने मात्र काम गर्छ। अक्टोबरमा बढी किनमेल गर्ने परिवारले नोभेम्बरमा कम किन्छन्। तर गुमेको कामको दिन भने फर्केर आउँदैन।

त्यसो भए क्षति कति ठूलो छ? यसको कुनै सरकारी अनुमान छैन, त्यसैले मैले आफैं एउटा अनुमान गरेको छु। त्यसका लागि मैले सोझो प्रश्न सोधेको छु- सबैभन्दा कम बिदा भएको देशको जस्तो पात्रो भए नेपाललाई कति फाइदा हुन्थ्यो? एउटै राष्ट्रिय पात्रो भएका देशमध्ये सन् २०२६ मा सबैभन्दा कम बिदा उरुग्वेमा छ, जम्मा पाँच दिन। बोस्निया एन्ड हर्जगोभिनामा चार दिन मात्र छ, तर त्यहाँको शासन विकेन्द्रित भएकाले देशभर एउटै बिदा छैन। स्विट्जरल्यान्डमा संघीय स्तरमा एक दिन मात्र बिदा छ, तर हरेक प्रान्त (क्यान्टन) ले कम्तीमा आठ दिन थप्छ। त्यसैले तुलनाका लागि उरुग्वे नै सबैभन्दा उचित देश हो।

नेपाल र उरुग्वेबीच ३० दिनको फरक छ। शनिबार र आइतबार बिदा हुने भएकाले यीमध्ये करिब सातामा दुई दिन जसै पनि बिदाकै दिन पर्थे। त्यसो हुँदा करिब २१ दिन कामको दिन थपिन्छ। यसले नेपालमा अहिले भएका २३६ कामका दिनमा झन्डै ९ प्रतिशत थप्छ। यी दिनलाई रुपैयाँमा बदल्न मैले भेट्टाउन सकेको, धेरै देशको तुलनामा आधारित सबैभन्दा भरपर्दो प्रमाण प्रयोग गरेको छु। लुकास रोसो र रोड्रिगो वाग्नर नाम गरेका दुई अर्थशास्त्रीले २०० भन्दा बढी देशका सार्वजनिक बिदाको अध्ययन गरेका छन्। उनीहरूका अनुसार कामका दिन एक प्रतिशत बढ्दा देशको उत्पादन करिब ०.२ प्रतिशत बढ्छ। उनीहरूले देशको कुल उत्पादन नापेका हुनाले बिदामा पसल, होटल र बसले गर्ने थप बिक्री पनि उनीहरूको अंकमा पहिल्यै समेटिएको छ।

आर्थिक वर्ष २०८२/८३ को रु ६६ खर्ब (६,६०० अर्ब) को जीडीपीमा यो हिसाब लगाउँदा वर्षमा करिब रु १ खर्ब २० अर्ब बराबरको क्षति हुन्छ। यो जीडीपीको १.८ प्रतिशत हो। यो रकम सोही वर्ष संघीय सरकारले गरेको कुल खर्च, अर्थात् रु १५ खर्ब ८२ अर्बको झन्डै ८ प्रतिशत हो। नेपालमा खेती र अनौपचारिक काम धेरै भएकाले कार्यालयको पात्रोको असर औसत देशभन्दा कम पर्न सक्छ। त्यसैले असर आधा मात्र मान्दा पनि वर्षमा करिब रु ६० अर्बको क्षति हुन्छ। संसारको मध्यिका (बीचको अंक) १३ दिनसँग तुलना गर्दा पनि क्षति वर्षमा रु ४४ अर्बदेखि ८८ अर्बसम्म पुग्छ। तालिका १ मा यी सबै हिसाब देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here