गुणस्तर नसुधारेपछि टेलिकम इन्टरनेट कम्पनीलाई मन्त्रीको चेतावनी- तपाईंहरूको गलत दिन आउनेवाला छ
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवा प्रदायकहरूको सेवा गुणस्तर, नियामकीय जवाफदेहिता र सरकारलाई तिर्नुपर्ने दायित्वमाथि प्रश्न उठाउँदै कडा चेतावनी दिएका छन्।
उपभोक्तालाई प्रतिबद्धताअनुसार सेवा नदिने, नियामकलाई प्रभावमा पार्ने, कानुन र नियामकीय निर्देशनलाई चुनौती दिने तथा सरकारलाई तिर्नुपर्ने रकम नतिरेर व्यवसाय सञ्चालन गर्ने प्रवृत्ति अब सह्य नहुने भन्दै मन्त्री तिमिल्सिनाले सेवा प्रदायकको झाँको झारेका हुन्।
नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले बिहीबार काठमाडौंमा आयोजना गरेको दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवा गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री तिमिल्सिना निकै आक्रामकरूपमा प्रस्तुत भए। उनले चर्को बोलीमा पछिल्लो समय सेवा प्रदायकहरूले इन्टरनेट मूल्यमा गरेको भारी वृद्धिको कारण सरकारलाई देखाउने र गुणस्तरहीन सेवा प्रवाह गरिरहेको उल्लेख गरे।
दूरसञ्चार सेवा उपभोक्ताको आधारभूत अधिकार भएको भन्दै उनले सेवा प्रदायकले न्यूनतम गुणस्तर कायम गर्नुपर्ने दायित्व पूरा नगरे त्यसको परिणाम भोग्नुपर्ने उनको चेतावनी छ।
‘मिलाएर कमाउने दिन गयो, अब काम गरेर, अकाउन्टबिलिटी देखाएर, क्वालिटी अफ सर्भिस दिएर, जे गर्छु भनेको थियो त्यो गरेर पैसा कमाउन सक्नुहुन्छ’, उनले सेवा प्रदायकलाई स्पष्ट शब्दमा भने, ‘यदि तपाईंले कानुनलाई च्यालेन्ज गरिरहनुभएको छ, नियामकलाई च्यालेन्ज गरिरहनुभएको छ, सरकारलाई च्यालेन्ज गरिरहनुभएको छ अथवा उपभोक्तालाई च्यालेन्ज गरिरहनुभएको छ भने तपाईंको गलत दिन आउनेवाला छ।’
उनले दूरसञ्चार क्षेत्रको सुधारका लागि लामो समयदेखि छलफल र प्रयास भए पनि सेवाको गुणस्तरमा अपेक्षित सुधार नदेखिएको भन्दै अब निर्देशन र आश्वासन मात्रै पर्याप्त नहुने बताए। सेवा प्रदायक, नियामक र सरकार सबैको जिम्मेवारी भए पनि सेवा प्रदायकले आफ्नो मूल दायित्व पूरा गर्नुपर्नेमा त्यसबाट पन्छिने प्रवृत्ति देखिएको उनको आरोप थियो।
मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरलाई नागरिकको आधारभूत अधिकारसँग जोड्दै सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। नागरिकलाई डिजिटल रूपमा जोड्ने सरकारको लक्ष्य इन्टरनेट र फोन सेवाको गुणस्तर कमजोर रहे पूरा हुन नसक्ने उनको भनाइ थियो।
‘यो पब्लिकको आधारभूत अधिकारको कुरा हो। हामी धेरै लामो समयसम्म कभरेजमा अल्झियौँ, तर क्वालिटी छायामा पर्यो’, उनले थपे, ‘जबसम्म इन्टरनेट कनेक्सन राम्रो हुँदैन, नागरिकले फोन र इन्टरनेटबाट कनेक्टिभिटीको गुणस्तरका कारण वञ्चित हुनुपर्छ, तब डिजिटल कनेक्टिभिटीको मर्म मर्छ।’
मन्त्री तिमिल्सिनाले आफ्नै दैनिक अनुभव सुनाउँदै काठमाडौंमै फोनको नेटवर्कमा समस्या हुने गरेको बताए। मन्त्रालयबाट बालाजुतर्फ जाने क्रममा फोनमा कुरा गर्दा बाटोमा दुई–तीन ठाउँमा अवरोध हुने गरेको उनले सुनाए। यस्तो समस्या सेवा प्रदायक र नियामक दुवैलाई आफूले जानकारी गराइसकेको उनको भनाइ थियो।
‘म हरेक दिन मन्त्रालयबाट बालाजुपट्टि साइडमा जान्छु। त्यो बाटो हिँड्दा हरेक दिन मैले कुरा गर्दै हिँडे भने दुई–तीन ठाउँमा कमसेकम फोनको अवरोध हुन्छ। यो कुरा मैले सर्भिस प्रोभाइडरलाई पनि भनेको छु, रेगुलेटरलाई पनि भनेको छु। दुनियाँ सिक्सजीको कुरा गर्दै छ, फाइभजीमा फड्को मार्दै छ तर, काठमाडौँजस्तो ठाउँमा गुणस्तरको यस्तो हालत छ’, उनले सेवा प्रदायकहरुलाई प्रश्न गरे।
मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा सेवाको गुणस्तर सुधार गर्नुपर्ने ठाउँमा नियामकलाई नै प्रभावमा पार्ने अभ्यास भइरहेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे। सेवा गुणस्तर कायम गर्न आवश्यक लगानी गर्नुभन्दा नियामकीय निकायलाई प्रभावित पारेर समस्या व्यवस्थापन गर्ने प्रयास भएको उनको आरोप थियो।
‘क्वालिटी अफ सर्भिस नदिने अनि क्वालिटी अफ सर्भिस कसले समाएर बसेको छ, त्यसलाई प्रभावमा पार्न लागिदिने। किन सेवाको गुणस्तर सुधार्न बढी खर्च गर्ने बरु गुणस्तर कायम गराउने निकायमै थोरै खर्च गरिदियो भने चल्ने भयो भन्ने गलत प्रवृत्ति अब बन्द हुनुपर्छ,’ उनले आक्रोशित हुँदै भने, ‘यो दुर्भाग्यपूर्ण इतिहास नेपालको टेलिकम सेक्टरले भोगेको छ।’
उनले सेवा प्रदायकहरूलाई विगतका अभ्यासबारे आफैं समीक्षा गर्न आग्रह गर्दै दूरसञ्चार क्षेत्रमा भएका कमजोरी सबै पक्षले स्वीकार गर्नुपर्ने बताए। विगतमा सेवा प्रदायक, नियामक र अन्य सम्बन्धित पक्षबाट भएका गल्तीका कारण अहिलेको अवस्था सिर्जना भएको भन्दै उनले अब त्यसको सुधारमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
‘तपाईंहरू कति जिम्मेवार हुनुहुन्छ, कति दोषको भागी हुनुहुन्छ, म तपाईंहरूलाई दोष लाउँदिन। तपाईंहरू आफैं आफ्ना बारेमा सोच्नुस्। तपाईंहरू सबैबाट फन्डामेन्टल एरर भएको छ, गल्ती भएको छ। त्यही भएर आजको दुर्भाग्यपूर्ण बिन्दुमा हामी उभिएका छौँ,’ कार्यक्रममा सहभागी सेवा प्रदायकसँग मन्त्री तिलिल्सिनाले भने।
नियामकलाई प्रभावमा पार्ने अभ्यासमाथि प्रहार
मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवा प्रदायकले सेवा सुधारका लागि आवश्यक खर्च गर्नुभन्दा नियामकीय निकायलाई प्रभावित पार्ने प्रयास गर्ने गरेको आरोप लगाए। उनले नियामकको भूमिका कमजोर बनाउने वा कारबाहीबाट बच्ने रणनीतिमा लाग्नुको सट्टा सेवाको गुणस्तर सुधारमा ध्यान दिन आग्रह गरे।
उनले नियामकलाई प्रभावमा पारेर व्यवसाय सञ्चालन गर्ने अभ्यास विगतमा रहेको भए पनि अब त्यस्तो प्रवृत्तिलाई निरन्तरता दिन नसकिने स्पष्ट पारे। कानुन उल्लंघन गरेर नियामक र सरकारलाई चुनौती दिने सेवा प्रदायकले त्यसको परिणाम भोग्नुपर्ने उनको चेतावनी थियो।
‘नेपाल टेलिकम्युनिकेसन्स अथोरिटी (एनटीए) हो त्यो। त्यो अथोरिटी एक्सरसाइज गर्नुपर्यो। सर्भिस प्रोभाइडरहरू कानुनविपरीत जानु भएन। यदि गए एनटीए छ भनेर थुरथुर हुनुपर्यो,’ उनले भने।
उनले नियामकले कानुनले दिएको अधिकार मात्रै नभई जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने बताए। सेवा प्रदायकले लाइसेन्समा उल्लेख गरेका सर्त पूरा नगरे, नियामकीय निर्देशन पालना नगरे वा उपभोक्तालाई प्रतिबद्धताअनुसार सेवा नदिए प्राधिकरणले कानुनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ थियो।
‘निर्देशन त बाटैमा हराउँछ, कागज मात्रै पुग्छ’, उनले भने, ‘त्यही भएर मैले पटक-पटक स्पष्ट र प्रिसाइज टर्ममा बोलेको छु। कुनै डिप्लोमेटिक टोनमा बोल्दिन। नियामक भनेको सिंह हो। गलत गर्नेहरूलाई दण्डित गर्ने अधिकार र दायित्व दुवै नियामकको हो।’
मन्त्री तिमिल्सिनाले दूरसञ्चार प्राधिकरणले आफ्नो नियामकीय अधिकार प्रभावकारी रूपमा प्रयोग गर्न नसके त्यसको औचित्यमाथि नै प्रश्न उठ्ने बताए। जनताको करबाट सञ्चालन हुने नियामकीय निकायले नागरिकको हित र सेवाको गुणस्तर सुनिश्चित गर्न नसके त्यसको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।
बक्यौता नतिर्ने, तर ग्राहक बढाउँदै व्यवसाय चलाउने प्रवृत्तिमाथि प्रहार
मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवा प्रदायकले सरकारलाई तिर्नुपर्ने रकम नतिर्ने, लाइसेन्स तथा अन्य दायित्वका विषयमा समयमै समाधान खोज्न नसक्ने तर बजारमा व्यवसाय विस्तार गरिरहने प्रवृत्तिमाथि पनि प्रश्न उठाए।
उनले सेवा प्रदायकले आफूलाई व्यवसाय सञ्चालनका लागि आवश्यक सुविधा निरन्तर प्राप्त भइरहने अपेक्षा गर्ने तर सरकारप्रति आफ्नो दायित्व पूरा नगर्ने प्रवृत्ति उचित नभएको बताए।
‘तपाईंको लाइसेन्स एक्स्पायर हुने, सब्सक्राइबर्स बढाइरहने, पैसा कमाइरहने, पैसा नतिर्ने अनि ठालु भएर मार्केटमा टिकिरहने, अनि सरकारले त्यसलाई मानिदिनुपर्ने? यो के हो?’ उनले प्रश्न गरे।
सरकारलाई तिर्नुपर्ने रकम, लाइसेन्सका सर्त र नियामकीय दायित्वबारे समयमै समाधान खोज्नुपर्ने भन्दै उनले समस्यालाई लामो समयसम्म थाती राखेर पछि सरकारमाथि दबाब सिर्जना गर्ने अभ्यास स्वीकार्य नहुने बताए।
‘किन नतिरेको, किन बेलैमा सम्बोधन नगरेको? समस्याहरू आउन सक्छन्, कन्फ्युजनहरू हुन सक्छन्, तर त्यसको सम्बोधन किन समयमा गरिएन? त्यसको समाधानको उपाय किन समयमा निकालिएन?’ उनले भने।
उनले सेवा प्रदायकले अदालतमा जाने, नियामकीय प्रक्रियालाई चुनौती दिने र त्यसपछि पनि आफ्नो व्यवसायलाई निरन्तरता दिन सरकारबाट सहजीकरणको अपेक्षा गर्ने प्रवृत्तिमाथि समेत प्रश्न उठाए। कानुनी प्रक्रियाको सम्मान गर्नुपर्ने भन्दै उनले अदालतबाट निर्णय आइसकेपछि त्यसलाई पालना गर्नुपर्ने बताए।
‘अब नियामकले कारबाही गर्नुपर्छ’
मन्त्री तिमिल्सिनाले दूरसञ्चार प्राधिकरणलाई सेवा प्रदायकमाथि कारबाही गर्न आफूले कम्पनी वा व्यक्तिको नाम लिएर निर्देशन दिने अवस्था नरहेको भन्दै कानुनअनुसार नियामकले आफ्नो काम गर्नुपर्ने बताए। सरकारको चासो कुनै एउटा कम्पनीको हितमा नभई समग्र दूरसञ्चार क्षेत्रको सुधार र उपभोक्ताले गुणस्तरीय सेवा पाउनुमा रहेको उनको भनाइ थियो।
‘म यसलाई यसो गर्नुस्, त्यसलाई त्यसो गर्नुस्, यसलाई त्यहाँ तह लगाउनुस् भनेर भन्दिन। मन्त्रीको रूपमा भन्छु सरकारको यसमा कुनै पनि इन्ट्रेस्ट छैन। सरकारको एउटै मात्र इन्ट्रेस्ट छ, क्वालिटी अफ सर्भिसमा गलत खेल हुनु भएन, खेल बन्द हुनुपर्यो,’ उनले भने।
उनले सेवा प्रदायकलाई नियामकीय निकायसँग छलफल गरेर समस्याको समाधान खोज्न आग्रह गर्दै नियामकलाई प्रभावमा पार्ने, गलत प्रचार गर्ने वा अनुचित नेटवर्किङ गर्ने अभ्यासबाट अलग रहन आग्रह गरे।
‘कुन पोलिसी फेर्नुपर्छ, त्यो लिएर आउनुस्। समग्र टेलिकम सेक्टरलाई उचाल्नको लागि एजेन्डा लिएर आउनुस्,’ उनले भने।
मन्त्री तिमिल्सिनाले सरकार आवश्यक कानुनी तथा नीतिगत सुधारका लागि तयार रहेको भन्दै सेवा प्रदायकलाई वास्तविक समस्या र सुधारका उपाय प्रस्तुत गर्न आग्रह गरे। तर, सेवा प्रदायकले आफ्नो दायित्व पूरा नगरी सरकारसँग मात्रै सहजीकरणको अपेक्षा गर्न नहुने उनको भनाइ थियो।
सेवा गुणस्तर सुधार नभए कडा कदम चाल्ने चेतावनी
मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर सुधारका लागि सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै अब गुणस्तरमा सम्झौता स्वीकार्य नहुने बताए। सेवा प्रदायकले आफ्नो दायित्व पूरा गरे सरकारबाट सहयोग प्राप्त हुने तर गलत काम गरे कानुनअनुसार कारबाही हुने उनको भनाइ थियो।
‘अब तपाईंहरूसँग क्वालिटी अफ सर्भिस दिनुको अर्को कुनै विकल्प छैन। सरकारले जस्तो नीति ल्याएर हुन्छ, जस्तो कानुन ल्याएर हुन्छ, जस्तो कदम चालेर हुन्छ, क्वालिटी अफ सर्भिस इन्स्योर गर्छ, गर्छ, गरेरै छाड्छ,’ उनले भने।
उनले सेवा प्रदायकलाई समय पर्याप्त दिइएको भन्दै अब पनि सेवा सुधारमा ध्यान नदिए सरकारको कदम सामना गर्नुपर्ने चेतावनी दिए।
आफू मन्त्री बनेको आठ महिनादेखि सेवा प्रदायक, प्राधिकरण र सम्बन्धित पक्षसँग पटक-पटक छलफल गर्दै सेवा सुधारका लागि आग्रह गरेको उनले सुनाए।
‘यत्रो समय त दिएको हो नि। एनटीएलाई पनि यत्रो समय दिएको हो, तपाईं सर्भिस प्रोभाइडरहरूलाई पनि यत्रो समय दिएँ,’ उनले भने, ‘प्लिज उपभोक्ताको गुनासो सुनिदिनुस्, उनीहरूले दिएको फिड्ब्याकलाई गम्भीररूपमा सम्बोधन गर्नुस्।’
उनले सेवा प्रदायकले उपभोक्ताको गुनासोलाई गम्भीर रूपमा लिनुपर्ने, सेवा सुधारका लागि आवश्यक काम गर्नुपर्ने र नियामकले त्यसको अनुगमन तथा कार्यान्वयन गर्नुपर्ने बताए।
टेलिकम क्षेत्रको छवि सुधार्न सेवा प्रदायकलाई आग्रह
मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रलाई भ्रष्टाचार, विवाद र गलत अभ्याससँग जोडिने क्षेत्रको रूपमा रहेको सार्वजनिक छवि सुधार्नुपर्ने बताए।
सेवा प्रदायकले सही काम गरेर पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण स्थापित गर्नुपर्ने उनको भनाइ थियो।
‘आज टेलिकम्युनिकेसन सेक्टर भनेको एउटा भ्रष्टाचारको अखाडा हो भन्ने सन्देश पब्लिकको माझमा छ। तपाईंहरू जिम्मेवार हुनुहुन्न त्यसको लागि जिम्मेवारी कसको? क्लिन गर्ने यो सेक्टरलाई,’ उनले भने।
उनले दूरसञ्चार क्षेत्रमा व्यवसाय गर्ने कम्पनीहरूले उपभोक्तालाई सेवा दिएर र कानुन पालना गरेर पैसा कमाउने सोच स्थापित गर्नुपर्ने बताए। गलत अभ्यासबाट लाभ लिन खोज्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने भन्दै उनले सेवा प्रदायकलाई आफ्नो व्यवसाय र क्षेत्रको प्रतिष्ठा सुधारमा योगदान गर्न आग्रह गरे।
‘सेवा दिएर र गुणस्तरीय सेवा दिएर पैसा कमाउँछु भनेर आएको हो, झुक्याएर पैसा कमाउँछु, ठगेर पैसा कमाउँछु, बोलेको जति सर्भिस नदिएर पैसा कमाउँछु भनेर आएको होइन,’ उनले भने।
मन्त्रीले दूरसञ्चार क्षेत्रमा सही काम गर्ने कम्पनीलाई सरकारले सहयोग गर्ने र गलत काम गर्ने कम्पनीलाई कारबाही गर्ने स्पष्ट नीति रहेको बताए। सरकारको उद्देश्य कम्पनीलाई दण्डित गर्नु मात्रै नभई समग्र क्षेत्रलाई स्वच्छ, प्रतिस्पर्धी र गुणस्तरीय बनाउनु रहेको उनले बताए।
‘तपाईंहरूले सही गर्नुभयो भने यो सरकारले तपाईंहरूलाई रिवार्ड गर्छ, गलत गर्नुभयो भने पनिस गर्छ,’ उनले भने, ‘गलत गरेर रिवार्डेड हुने, सही गरेर पनिस हुने यदि त्यस्तो कतै थियो भने अब त्यो सकियो।’
प्राधिकरणलाई पनि जिम्मेवारी पूरा गर्न सचेत
कार्यक्रममा दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले समेत सेवा गुणस्तर सुधारका लागि नियामकले प्रभावकारी भूमिका खेल्नुपर्ने स्वीकार गरेका थिए।
सेवा प्रदायकलाई निर्देशन दिने, प्रतिवेदन माग्ने र निर्देशन जारी गर्ने काम भइरहे पनि त्यसबाट सेवामा अपेक्षित सुधार नआएपछि सरोकारवालासँग छलफल गर्न कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो।
घिमिरेले सेवा प्रदायकलाई गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक सहयोग गर्न प्राधिकरण तयार रहेको बताए। सेवा सुधारका लागि आवश्यक कदम चाल्नुपर्ने भन्दै उनले कारबाही र जरिवानाको विषयमा समेत छलफल तथा निर्णय आवश्यक रहेको संकेत गरेका थिए।
मन्त्री तिमिल्सिनाले प्राधिकरणलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दै सेवा प्रदायकलाई कानुन पालना गराउन नियामकको अधिकार प्रयोग हुनुपर्ने बताए। उनले प्राधिकरणका कर्मचारी पनि नागरिकप्रति उत्तरदायी हुनुपर्ने भन्दै सेवा गुणस्तर सुनिश्चित गर्न नसके नियामकको भूमिकामाथि नै प्रश्न उठ्ने बताए।
उनले सेवा प्रदायक, नियामक र सरकार सबैले आ-आफ्नो जिम्मेवारी पूरा गरे नागरिकले अनावश्यक समस्या भोग्नुपर्ने अवस्था नआउने बताए।
‘जसले जे गर्नुपर्ने त्यो नगरेर देश नबनेको होइन र? त्यही भएर हामी सबैले हाम्रो आ-आफ्ना जिम्मेवारी पूरा गर्यौँ भने तपाईंहरूलाई अनुचित प्रेसर हुँदैन, एनटीएलाई अनुचित प्रेसर हुँदैन, सरकारलाई अनुचित प्रेसर हुँदैन,’ उनले भने।
मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको सुधारका लागि सरकार सहयोग गर्न तयार रहेको भन्दै सेवा प्रदायकलाई गुणस्तरीय सेवा प्रदान गर्न र प्राधिकरणलाई नियामकीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरे। अब सेवा गुणस्तरमा सम्झौता नगर्ने सरकारको स्पष्ट अडान रहेको भन्दै उनले दूरसञ्चार क्षेत्रको सुधारका लागि सबै पक्षले जिम्मेवारी लिनुपर्ने बताए।






प्रतिक्रिया दिनुहोस्