‘पोजिसन’ लिने मुडमा गगन
कांग्रेस सभापति गगनकुमार थापा समानान्तर गतिविधि गरिरहेका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षप्रति आक्रामक देखिएका छन्। समानान्तर गतिविधि रोक्न चेतावनी दिँदै देउवा पक्षको महाधिवेशनमा सहभागी हुने जनप्रतिनिधिलाई विधानअनुसार कारबाही गर्ने स्पष्ट संकेत गरेका छन्।
देउवा पक्षले भने सर्वोच्च अदालतमा विचाराधीन आधिकारिकताको मुद्दा टुंगो नलागेसम्म आफ्नो महाधिवेशन अभियान नरोकिने अडान लिएको छ। हालै बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीको गतिविधिमा सहभागी हुने छुट कसैलाई नरहेको बताएका थिए। देउवा पक्ष आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्न लागेको छ।
सभापति थापाले देउवा पक्षले गर्न लागेको महाधिवेशनलाई कांग्रेसको आधिकारिक महाधिवेशन नभई नयाँ पार्टीको महाधिवेशनको संज्ञा दिएका छन्। एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने उनको तर्क छ। कांग्रेसको सदस्यता कायम राख्ने वा अर्को पार्टीमा जाने भन्ने निर्णय सम्बन्धित व्यक्तिले गर्नुपर्ने भन्दै उनले नयाँ पार्टीमा सहभागी हुने जनप्रतिनिधिलाई निर्वाचित पदबाट राजीनामा दिनसमेत आग्रह गर्दै भनेका थिए, ‘तपाईं राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा वा स्थानीय तहमा हुनुहुन्छ भने कांग्रेस छाडेर अर्को नयाँ पार्टीमा जानुभयो भने जुन ठाउँमा जनप्रतिनिधि हुनुहुन्छ, त्यसबाट राजीनामा गर्नुहोला। गर्नुभएन भने विधानअनुसार कारबाही अघि बढ्छ।’






प्रतिक्रिया दिनुहोस्