नेपालको विपद्‌पछिको पुनर्निर्माणमा सक्रिय सहयोग गर्छौं : चीन

चीनले नेपालको विपद्‌पछिको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्ने जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनपछि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।

हालैको बाढीपछिको पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाउन नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने योजना बनाएको, जसमा चीनले सहयोग गर्ने सङ्केत गरे पनि रकम नतोकेको तथा थप पूर्वसूचना र जलवायु तथ्याङ्क आदानप्रदान गर्न सहमत भएको भन्ने विवरणमाथि रोयटर्सले चिनियाँ विदेश मन्त्रालयको प्रतिक्रिया मागेको थियो।

frontline

जवाफमा प्रवक्ता गुओले विपद्‌ले ठूलो क्षति पुर्‍याएको र पुनर्निर्माणमा विशाल चुनौती रहेको उल्लेख गर्दै चीनले घटनाक्रमलाई नजिकबाट नियालिरहेको र नेपालको पीडामा साथ रहेको बताए। ‘यसअघि उपलब्ध गराइएको आपत्कालीन सहायताका अतिरिक्त विपद् प्रभावित क्षेत्रका नागरिकलाई घर पुनर्निर्माण गर्न र काम तथा जनजीवनलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन चीनले नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्नेछ,’ उनले भने।

प्राकृतिक विपद्‌बाट सिर्जित जोखिम र चुनौतीहरूको अझ राम्रोसँग सामना गर्न नेपालको विपद् रोकथाम तथा न्यूनीकरण क्षमता अभिवृद्धि गर्नसमेत चीनले सघाउने प्रवक्ता गुओले उल्लेख गरे।

चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी भएको बताउँदै उनले नेपालको उत्तरी क्षेत्रमा गएको ठूलो गेग्रानको बाढी विपद्‌लगत्तै चीनले प्रभावित क्षेत्रका लागि तत्काल आपत्कालीन सहायता घोषणा गरी अन्तर्राष्ट्रिय उद्धार सहकार्य गरेको स्मरण गरे।

उनका अनुसार चिनियाँ सरकारले नेपाललाई नगद सहायता र पाँच खेप आपत्कालीन राहत सामग्री उपलब्ध गराएको थियो। त्यस्तै, सुरुङ उद्धार र विधि विज्ञान पहिचानमा विशेषज्ञता हासिल गरेका २० भन्दा बढी विज्ञ पठाउनुका साथै मौसम, जल तथा भूगर्भसम्बन्धी अवस्थाको तथ्याङ्क निरन्तर आदानप्रदान गरेको उनले जानकारी दिए।

साथै, चीनका विभिन्न क्षेत्रका नागरिकले समेत सहयोगको हात अघि बढाउँदै नेपाली जनताप्रति सद्भाव र समर्थन व्यक्त गरेको प्रवक्ता गुओले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here