प्रधानमन्त्री शाह–जयशंकर भेटमा क्रिकेटका कुरा, नेपाल र भारत नियमित खेल्ने चर्चा
नयाँ दिल्लीमा प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस जयशंकरबिच भएको शिष्टाचार भेटका क्रममा क्रिकेट खेलका विषयमा पनि कुराकानी भएको छ।
आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताजमहलमा भारतीय विदेशमन्त्री जयशंकरसहितको प्रतिनिधिमण्डलले होटल प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीसँग गरेको भेटवार्तामा क्रिकेटबारे पनि कुरा चलेको हो।
उक्त भेटमा नेपालका तर्फबाट प्रधामन्त्री शाह, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृत बहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी थिए।
उता भारततर्फ विदेशमन्त्री जयशंकर, विदेश सचिव विक्रम मिस्त्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायत सहभागी थिए।
उनीहरूबिचको छलफलमा नेपाली पक्षले नेपाली क्रिकेट टिम र भारतीय क्रिकेट टिमबिच नेपाल र भारतमा पालैपालो नियमित खेल गराउने प्रस्ताव राखेको थियो।
‘भारतको क्रिकेट टिम नेपाल आएर र नेपालको टिम भारतमा गएर नियमित खेल्ने अवस्था बनाउने प्रस्ताव गरेका छौँ’, छलफलमा सहभागी एक सदस्यले नेपालखबरसँग भने।
त्यो प्रस्ताव सुनेपछि भारतका विदेशमन्त्री जयशंकरले त्यसको प्रक्रियाबारे चासो राखेका थिए।
नेपाली र भारतीय अधिकारीहरूबिच भइरहेको छलफलमा प्रधानमन्त्री शाहले दुई देशका टिमबिच नियमति खेल गराउने विषयमा सहमति भयो भने प्रक्रिया टुंगो लगाउन समस्या नहुने बताएको भेटवार्तामा सहभागी एक सदस्यले बताए।
प्रधानमन्त्री शाहले त्यसो भनेपछि भारतीय पक्षले दुवै देशको क्रिकेट टिमबिच नियमित खेल खेलाउने विषयमा सकरात्मक रहेको प्रतिक्रिया दिएको थियो।
नेपाली क्रिकेट खेलाडीका लागि भारतीय टिमबाट सिक्ने अवसर हुने भएकाले यस्तो प्रस्ताव गरिएको नेपाल प्रतिनिधिमण्डलका सदस्यले बताएका छन्।






प्रतिक्रिया दिनुहोस्