राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत चौधरीको सर्टिफिकेट ‘नक्कली’
राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामवावू प्रसाद चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख अनुसन्धान अधिकृत चौधरीले नक्कली प्रमाणपत्रका आधारमा विभागमा जागिर खाएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिहीबार अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
अनुसन्धानका क्रममा चौधरीले राष्ट्रिय अनुसन्धान विभागमा राष्ट्रसेवक पदमा कार्यरत रहँदा बढुवा तथा पदस्थापनसमेत हुने प्रयोजनको लागि ‘बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल’ बाट जारी भएको देखिने आई.ए तहको मार्क्स स्टेटमेन्ट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट, कन्डक्ट सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेट समेतका झुट्टा तथा नक्कली प्रमाणपत्रहरू पेस गरेका अख्तियारको ठहर छ।
उक्त नक्कली सर्टिफिकेटका आधारमा राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान अधिकृत (रा.प.द्वितीय श्रेणी) पदसम्मको बढुवा तथा पदस्थापन भई राष्ट्रसेवकको ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेको पुष्टि भएको अख्तियारले दाबी गरेको छ।
रामवावू प्रसाद चौधरीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।






प्रतिक्रिया दिनुहोस्