बंगलादेशतर्फ बिजुली निर्यात रोकियो, १० दिनपछि भारतबाटै आयात गर्नुपर्ने

सम्झौताअनुसारको समयावधि सकिएसँगै यो वर्ष बंगलादेशतर्फको ४० मेगावाट बिजुली निर्यात रोकिएको छ।

नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षे सम्झौता भएको थियो। 

frontline

सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको ६ महिना अवधिमा दैनिक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात हुँदै आएको छ। सम्झौताअनुसार यो वर्ष आइतबारसम्म ४० मेगावाट विद्युत् बंगलादेश निर्यात भएसँगै अब रोकिएको छ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले अब अर्को वर्ष मात्रै बंगलादेशतर्फ विद्युत् निर्यात हुने जानकारी दिए। यो वर्ष विद्युत् निर्यात नहुने उनले स्पष्ट पारे। सुख्खायाम सुरु हुन थालेसँगै अब बिजुली निर्यात गर्न सक्ने अवस्थामा प्राधिकरण नरहेकाले बंगलादेशतर्फ आगामी वर्ष मात्रै ४० मेगावाट बिजुली निर्यात गरिने उनले बताए।

‘ड्राई सिजन सुरु भइसकेको छ। चाडपर्व र बिदा सकिएसँगै अब भोलि (मंगलबार)बाट विद्युत् प्रणालीमा बिजुलीको लोड पनि बढ्छ। १८००-१९०० मेगावाटको लोड मात्रै थियो। चाडपर्व सकिएपछि अब कलकारखानासँगै अरु क्षेत्रमा विद्युत् माग बढ्ने भएकाले निर्यात गर्न नसकिने अवस्थामा छौँ। अब विद्युत् लोड २४००-२५०० मेगावाट पुगिहाल्छ। विद्युत् उपलब्धता हामीसँग २६००-२७०० मेगावाट भन्दा छैन। भारत तर्फ निर्यात हुने बिजुली पनि घट्दै जान्छ। अबकको एक हप्ता १० दिनमा त भारतबाट बिजुली आयात गर्नुपर्ने हुन्छ’, कार्यकारी निर्देशक श्रेष्ठले नेपालखबरसँग भने। 

प्राधिकरणका अनुसार अब आगामी वर्ष मात्रै भारत र बंगलादेशतर्फ विद्युत् निर्यात हुनेछ। 

भदौ १० को भयानक भोटेकोसी बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति पुग्दा नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात रोकिएको थियो। विनाशकारी बाढीका कारण बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुगेपछि निर्यात रोकिएको थियो। जसलाई विद्युत् प्राधिकरणले कात्तिक ६ गते साँझदेखि मात्रै पुनः निरन्तरता दिएको थियो। 

त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुगेपछि नेपाल विद्युत् प्राधिकरणले भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त गरेपछि निर्यात पुनः सुरु गरेको थियो।

विद्युत् प्राधिकरणले गत असोजमा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको थियो। प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्यांकअनुसार असोजमा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात भएको थियो। उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

२०८२ को असोजमा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।  हाल भारततर्फ स्वीकृति प्राप्त कुल विद्युत् निर्यात क्षमता १ हजार १७९ मेगावाट पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here