करोडौंको अस्पताल बन्यो, सेवाको प्रतीक्षामा कार्मारोङवासी
मुगु : मुगुम कार्मारोङ गाउँपालिका–७ का ७० वर्षीय छयाङ तोर्चे कामीलाई सामान्य स्वास्थ्य समस्या हुँदा गाउँकै स्वास्थ्यचौकी पुग्न सहज छ। तर जटिल समस्या देखिएमा चार घण्टा पैदल हिँडेर जिल्ला अस्पताल गमगढी पुग्नुपर्ने बाध्यता छ। अझ थप उपचार आवश्यक परे जुम्ला, सुर्खेत, नेपालगन्ज वा काठमाडौं पुग्नुपर्ने हुन्छ।
छयाङ तोर्चेजस्ता मुगुम कार्मारोङका हरेका बस्तीका नागरिकको यही बाध्यता छ। यही बाध्यतालाई मध्यनजर गर्दै मुगुम कार्मारोङ गाउँपालिका–६ स्थित रिउस बगरमा प्राथमिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ। शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले अस्पताल भवन उद्घाटन गरेपछि स्थानीयमा गाउँमै स्वास्थ्य सेवा पाउने आशा पलाएको छ।
संघीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम अन्तर्गत निर्माण भएको उक्त भवनमा १० करोड २४ लाख ९३ हजार १ सय ६० रुपैयाँ खर्च भएको छ।
नेपाल पब्लिक कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले निर्माण गरेको भवनमा तीनवटा ब्लक, ४० कोठा र १९ वटा शौचालय छन्। निर्माण कम्पनीसँग २०७८ वैशाख १७ गते सम्झौता गरी २०८० असार ३० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर विभिन्न प्राविधिक तथा भौगोलिक कठिनाइका कारण पाँच पटक म्याद थप गर्नुपर्दा निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी भवन निर्माण सम्पन्न भएको हो।
डीपीआर निर्माणमा भएको ढिलाइ, सडक सञ्जालको अभाव र निर्माण सामग्री ढुवानीमा खच्चड तथा भरियामा निर्भर हुनुपर्दा काम प्रभावित भएको गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र रावलले बताए। भवन निर्माण भएर उद्घाटन भए पनि अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक उपकरण, औषधि र जनशक्ति व्यवस्थापन हुन सकेको छैन।
हाल गाउँपालिकाको बजेटबाट एक चिकित्सकसहित आठ जना अन्य स्वास्थ्यकर्मी परिचालित छन्। अस्पतालको स्थायी दरबन्दीसमेत स्वीकृत नहुँदा नियमित सेवा प्रवाहमा समस्या रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बलिबहादुर बुढाले बताए।






प्रतिक्रिया दिनुहोस्