कर्णालीमा २४ सैं घण्टा यातायात सेवा सञ्‍चालन गर्न व्यवसायीको माग

वीरेन्द्रनगर : कर्णाली राजमार्गमा रात्रिकालिन यातायात सेवा सञ्चालनमा लगाइएको रोक प्रहरीले कडाइका साथ लागू गरेको छ । सरकारले विगतदेखि नै सवारी दुर्घटनालाई ध्यानमा राखेर कर्णाली राजमार्गमा राति यातायात सेवा बन्द गरेको भएपनि व्यवसायीहरूले लुकिचोरी राति यातायात सञ्चालन गर्न थालेपछि प्रहरीले कडाइ गरेको हो । 

 यो राजमार्गमा राति ८  बजेपछि अत्यावश्यक बाहेकका सबै किसिमका यातायातका साधनहरु गुड्न पूर्णरुपमा रोक लगाइएको छ । तर,व्यवसायीहरूले मनोमानी रुपमा सवारी चलाउन थालेपछि आइतबार नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सुर्खेतस्थित विभिन्न यातायात व्यवसायी समितिका प्रतिनिधिहरूलाई छलफलमा बोलाएर कर्णाली राजमार्गमा राति यातायात संचालन रोक्न आग्रह गरेको छ । 

frontline

कार्यालय प्रमुख एसपी मुकुन्दप्रसाद रिजालले कर्णाली राजमार्गमा लामो दुरीका यातायातका साधनहरू राति गुडेको फेला पारे कानुनी दायरामा ल्याउने बताए । उनले भने,’ सरकारले सवारी दुर्घटनालाई ध्यानमा राखेर नै कर्णालीको जोखिमयुक्त सडकमा राति यातायात सेवा सञ्‍चालनमा रोक लगाएको हो । तर,व्यवसायीहरूले यसलाई अटेरी गरी यातायात सञ्‍चालन गरे सवारी साधनका धनी र चालकहरूलाई ल्याएर मुद्दा चलाउँछौं ।

उनले सरकारले नै पुन निर्णय गरेर २४ सैं घण्टा यातायात सेवा सञ्चालन गरेपछि बाहेक कुनै पनि बहानामा कर्णालीमा राति यातायातका साधनहरू गुडाउन नपाइने बताए । उनले भने,’ कर्णाली राजमार्ग आफैमा दुर्घटनाको उच्च जोखिममा छ । साँघुरो सडक, छोटा मोडहरु, खाल्लाखुल्डी परेको सडक, भीरालो ठाउँजस्ता समस्याहरू सुधार गर्नुपर्ने छ । तर,पछिल्लो समय केही सुधारका प्रयासहरू भने भइरहेका छन् । चाडबाड मनाएर मानिसहरू गाउँबाट आफ्नो काम तिर फर्किने अवस्थामा यात्रुहरूको चाप पनि बढ्दो छ । यसै मौका पारेर व्यवसायीहरूले राति राति प्रहरीलाई नजीकै जाने भनेर ढाँटेर, छलेर सवारी साधनहरू सञ्‍चालन गर्ने र प्रहरीका विरुद्ध सडक जाम जस्ता कार्यहरू भइरहेका छन् । यसलाई ट्राफिक प्रहरीले गम्भीरताका साथ लिएको छ । अब त्यसो गर्न पाइँदैन् । 

यता यातायात व्यवसायी तथा स्थानीय नागरिकले कर्णाली राजमार्गमा राति यातायात सेवा बन्द गर्ने सरकारको निर्णय प्रति असन्तुष्टि जनाए । उनीहरूले सडक स्तरोन्नति र सुरक्षा व्यवस्थापन गर्नुको सट्टा राति सवारीसाधन चलाउन रोक लगाएर नागरिकलाई सास्ती दिने काम भइरहेको भन्दै राजमार्ग २४ सै घण्टा खुला गर्न माग गरेका छन् । 

सुर्खेत देउति नागरिक यातायात व्यवसायी समितिका अध्यक्ष कमल खड्काले मुलुकका कुनै पनि ठाउँमा नभएको नियम कर्णालीमा लगाएर राज्यले कर्णालीमाथि विभेद गरेको बताए । उनले भने,’ सडकमा दुर्घटना राति गाडी चलाएर होइन्, सडकको अवस्था, गाडीको अवस्था र अन्य प्राविधिक कारण हो । यसमा सरकार जिम्मेवार छैन । कर्णालीमा राति गाडी नचालाउने भनेर निर्णय गरेर जनतालाई सास्ती भएको छ । एकै दिनमा सुर्खेतबाट जुम्ला पुगेर फर्किने अवस्थामा यो निर्णयले ३ दिन लाग्ने अवस्था छ । पूर्वतिर पनि सवारी दुर्घटना भइरहेका छन् त ? त्यहाँ यो नियम लागू हुँदैन । कर्णालीका लागि मात्र यस्तो निर्णय किन गरेको होला । ‘

सुर्खेतदेखि दैलेख, कालीकोट, जुम्ला, मुगु हुँदै हुम्लासम्म जोड्ने कर्णाली राजमार्ग कर्णालीवासीको लाइफ लाइन हो । समाजसेवी युवा मनराज देवकोटाले भने,’ कर्णाली राजमार्गमा हालसम्म भएका सबै दुर्घटनाहरू दिउँसो नै भएका छन् । दैलेखको किट्टुमा बिहान ७ बजे, कालिकोट बिर्तामोडमा बेलुका ५ बजे, जुम्ला रारालीमा बिहान ८ बजे । जहाँ ४२, २८ र १४ जनाले ज्यान गुमाएका थिए । तर, ती दुर्घटनाका कारण राति यातायात रोक लगाउनु भनेको कर्णालीवासीका साथै कर्णाली घुम्न आउने पर्यटकका लागि पनि सास्ती भएको छ । यसकारणले सडकको स्तोरोन्नति र ट्राफिक नियम कडाई गरेर २४ सैं घण्टा कर्णालीमा नियमित यातायात सेवा सञ्चालन गर्नुपर्छ । 

कर्णाली राजमार्गले कर्णालीका नागरिकको आवागमन, व्यापार, पर्यटन, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति र आर्थिक गतिविधिलाई प्रत्यक्ष रूपमा जोडेको छ । तर, साँझ परेपछि सवारी आवागमनमा लगाइने प्रतिबन्धका कारण यात्रु, यातायात व्यवसायी, पर्यटक तथा स्थानीय व्यापारीले लामो समयदेखि समस्या भोग्दै आएका छन् । 

सुर्खेत–जुम्ला सडकखण्डमा रातिको समयमा यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने अभ्यासले लामो दूरीको यात्रालाई थप कठिन बनाएको यात्रुहरुको गुनासो छ । रातिको समयमा गन्तव्यतर्फ जान नपाउँदा यात्रुहरू बीच बाटोमै रोकिनुपर्ने,होटलमा अनावश्यक खर्च गर्नुपर्ने र निर्धारित समयमा गन्तव्यमा पुग्न नसक्ने अवस्था रहेको उनीहरूको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here