अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठोक्किए
अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा शनिबार राति दुईवटा विमान आपसमा ठोक्किएका छन्। उक्त दुर्घटनामा परी दुई जना सामान्य घाइते भएका छन्।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार ट्याक्सीवेमा गुडिरहेका बेला कोपा एयरलाइन्सको बोइङ ७३७ विमानको पखेटाको टुप्पोले यूपीएसको बोइङ ७६७ कार्गो विमानको अग्रभाग (नोज) मा ठक्कर दिएको हो। स्थानीय समयअनुसार शनिबार राति करिब ९:१५ बजे उक्त दुर्घटना भएको विमानस्थलका सञ्चार निर्देशक ग्रेग चिनले जानकारी दिएका छन्।
एफएएका अनुसार एयर ट्राफिक कन्ट्रोलरले यूपीएस विमानका चालक दललाई कोपा एयरलाइन्सको विमानलाई बाटो छाडिदिन निर्देशन दिएका थिए। तर, एटीसीको अडियो रेकर्डिङमा यूपीएसका पाइलटले आफ्नो विमान अलि अगाडि बढेको र कोपाको विमानले ठक्कर दिएको स्वीकार गरेका छन्। ठक्करपछि कोपा विमानका पाइलटले आफ्नो बायाँ पखेटाको टुप्पोमा क्षति पुगेको जानकारी गराएका थिए। सार्वजनिक भएका तस्बिरहरूमा यूपीएस विमानको अघिल्लो भाग कुच्चिएर प्वाल परेको देखिन्छ।
पनामा सिटीबाट मियामी अवतरण गरी पार्किंतर्फ जाँदै गरेको कोपा एयरलाइन्सको विमानमा १६६ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए। दुर्घटनालगत्तै सुरक्षित रूपमा विमानलाई टर्मिनलमा ल्याइ सबै यात्रुलाई सकुशल बाहिर निकालिएको थियो। यता, कोलम्बियाको बोगोटाका लागि उडान भर्ने तयारीमा रहेको यूपीएस विमानका चालक दल पनि सुरक्षित रहेको कम्पनीले जनाएको छ। सामान्य घाइते भएका दुई जनाको घटनास्थलमै अग्नि नियन्त्रक तथा उद्धार टोलीले प्राथमिक उपचार गरेका छन्।
शुक्रबार एफएएको प्राविधिक समस्याका कारण अमेरिकाभरका उडानहरू रोकिएपछि हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेका थिए। सोही उडान तालिकालाई सामान्य बनाउने प्रयास भइरहेका बेला मियामीमा यो दुर्घटना भएको हो। दुवै विमान कम्पनीले अनुसन्धानमा अधिकारीहरूलाई पूर्ण सहयोग गर्ने बताएका छन् भने एफएएले घटनाको विस्तृत छानबिन सुरु गरेको छ।






प्रतिक्रिया दिनुहोस्