च्यासल बैठकमा विष्णु र शंकरले यसो भने अध्यक्ष ओलीबारे
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र पार्टी पुनर्गठनको विषय साम्य बनाउनेगरी अभिव्यक्ति दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा राष्ट्रिय भेलाको तयारीका लागि मंगलबार बसेको बैठकमा दुबै नेताले अब नेतृत्वको विषय नउठाउने संकेत गरेका हुन्।
दुवै नेताले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्नेमा पनि जोड दिएका छन्।
बैठकमा उपाध्यक्ष पौडेलले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा भएको लज्जास्पद पराजयलाई क्षणिक र अस्थायी धक्काका रूपमा लिनुपर्ने बताए। आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउनेगरी तयारी गर्नुपर्नेमा पनि उनले जोड दिए।
यद्यपि, अहिलेको बालेन्द्र शाह नेतृत्वको सरकारले जनताको पक्षमा काम नगरेको भन्दै सडक आन्दोलन र निर्वाचन दुवैका लागि तयार रहनुपर्नेमा उनको जोड थियो।
‘सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,’ पौडेलले बैठकमा भने।
निर्वाचन परिणामपछि एमालेभित्र नेतृत्वको कार्यशैली, संगठनको अवस्था र भावी नेतृत्वबारे बहस उठेको छ। यही पृष्ठभूमिमा पौडेलले आन्तरिक एकतालाई जोड दिएका हुन्।
एमालेले आगामी मंसिरमा गर्न लागेको राष्ट्रिय भेलामा यस विषयबारे छलफल गर्नुपर्ने पनि उनले बताए।






प्रतिक्रिया दिनुहोस्