रुस भन्छ : अर्को महिना चीनमा पुटिन, ट्रम्प र सीबिच युक्रेनबारे त्रिपक्षीय वार्ताको सम्भावना
रुसले अर्को महिना चीनमा आयोजना हुने ‘एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन’ शिखर सम्मेलनका क्रममा आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा त्रिपक्षीय वार्ता हुने सम्भावना रहेको सोमबार बताएको छ।
‘वाल स्ट्रिट जर्नल’मा प्रकाशित समाचारका सन्दर्भमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘चीनमा हुने शिखर सम्मेलनमा तीनै राष्ट्र प्रमुखको सहभागिता रहने सम्भावना छ। यस सम्भावित बैठकको कुरा पक्कै पनि उठेको छ।’
पेस्कोभले थपे, ‘यो विषय उठेको त थियो, तर बैठक वा यसको सम्भावित कार्यसूची र विषयवस्तुबारे कसैले पनि कुनै ठोस प्रस्ताव वा सम्झौता अघि सारेको वा त्यसबारे छलफल गरेका छैनन्।’
यसअघि वाल स्ट्रिट जर्नलले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि आगामी महिना अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङसँग त्रिपक्षीय शिखर वार्ताको प्रस्ताव गरेको रिपोर्ट प्रकाशन गरेको थियो।
यसैबिच युक्रेनका विदेशमन्त्री आन्द्री सिबिहाले भने आफ्नो देशको सहभागिता वा रायबिना चीनमा यस्तो बैठक आयोजना गर्ने विचारको आलोचना गरेका छन्।
सिबिहाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘युक्रेन, अमेरिका र रुसका नेताहरूबिचको त्रिपक्षीय बैठकले युद्ध छिटो अन्त्य गर्न मद्दत गर्न सक्छ। तर रुस, चीन र अमेरिकाका नेताहरूबिचको त्रिपक्षीय बैठकले भने ठीक उल्टो काम गर्नेछ, यसले पुटिनलाई यो युद्ध जारी राख्न प्रोत्साहन गर्नेछ।’






प्रतिक्रिया दिनुहोस्