वाणको शय्यामा ढलेको भीष्म पितामहजस्तै खडा छु : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले जतिसुकै खुट्टा ताने पनि पार्टी आफ्नो लक्ष्य र काममा दृढताका साथ अघि बढ्ने बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित संविधान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेलाई कमजोर पार्ने सबै प्रयास विफल हुने दाबी गरेका हुन् ।
सञ्चारमाध्यममा पार्टी फुटाउने र नेतृत्व परिवर्तन हुने भन्दै चलाइएका हल्लालाई उनले निराधार र झुटो प्रचारको संज्ञा दिए। आफूलाई महाभारतका पात्र भीष्म पितामहसँग तुलना गर्दै ओलीले वाणको वर्षा भएर शय्यामा ढले पनि आफू अझै खडा रहेको बताए।
Shivam Cement
‘चक्ली वाण वर्षा भएपछि भीष्म पितामह शय्यामाथि ढलेका थिए’, उनले भने, ‘तर केपी ओली ढलेको छैन, खडा नै छ र फेरि पनि मैदानमा छ।’ उनले ७४ वर्षको उमेरमा अमरसिंह थापाले तरबार लिएर युद्ध लडेको स्मरण गर्दै आफूले भारी तरबार बोक्न नपरे पनि सानो कलम लिएर युद्धमैदानमै रहेको स्पष्ट पारे। आफ्नो राजनीतिक जीवनमा १० वटा महाभारत लडेर यहाँसम्म आइपुगेको बताउँदै उनले विरोधीका कुनै पनि कोसिसले पार नलाग्ने दाबी गरे।
असोज ५ देखि ७ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीभित्रका सम्पूर्ण समस्या समाधान गर्दै सुदृढ एकताको सूत्रमा बाँध्ने ओलीले विश्वास व्यक्त गरे। उक्त बैठकबाट भव्य वक्तव्यका साथ सङ्कल्प लिएर निस्कने भन्दै उनले पार्टीलाई सिध्याउने सपना नदेख्न चेतावनी दिए।
गल्ती महसुस गर्ने र पुरानै अवस्थामा फर्केर अघि बढ्ने (रियलाइजेसन र रेजिलेन्स) क्षमता एमालेसँग मात्रै रहेको उनको भनाइ थियो। उनले प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन एमाले सधैँ तयार रहेको र अन्त्यमा अग्रगामी शक्तिहरूकै जित हुने बताए। असत्य र प्रतिगमनले एक छिन जितेजस्तो देखिए पनि सत्यको नै सधैँ विजय हुने उनले प्रस्ट पारे।
संविधान संशोधनको विषयमा बोल्दै ओलीले एमाले अग्रगमनका लागि संविधान संशोधनको पक्षमा रहेको स्पष्ट पारे। मौलिक हकका सन्दर्भमा नेपालको संविधान उत्कृष्ट रहे पनि अनुभवका आधारमा देखिएका कमजोरी हटाउँदै जानुपर्ने उनको तर्क थियो।
संविधान संशोधनलाई श्राद्धमा बिरालो बाँधेजस्तो कर्मकाण्डी बनाउन नहुने उनले बताए। ‘हामी अहिले पनि संविधान संशोधनको पक्षमा छौँ’, उनले भने, ‘तर संविधान बिगार्न, पश्चगमन वा प्रतिगमनका लागि होइन, देशलाई अगाडि बढाउन सकारात्मक संशोधन हुनुपर्छ।’
वर्तमान सत्ता पक्षले बहुमतको दुरुपयोग गरी कार्यकारी अधिकारको नाममा जथाभाबी गरिरहेको र संविधानलाई घाँडो बनाएको उनले आरोप लगाए। राष्ट्रिय सभा अहिलेको संविधान र सकारात्मक संशोधनको पक्षमा रहे पनि प्रतिनिधि सभामा निर्णायक शक्तिहरू नरहेको उनले टिप्पणी गरे।
गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई ओलीले सुनियोजित षड्यन्त्रको संज्ञा दिए। आन्दोलनका क्रममा आफूले दमन नगर्न र गोली नचलाउन निर्देशन दिए पनि घुसपैठ गराएर हत्याकाण्ड मच्चाइएको उनले दाबी गरे।
‘गत वर्ष एउटा आम कत्लेआम र नरहत्याको योजना रचना गरियो’, उनले भने, ‘२३ गते अनावश्यक ढङ्गले युवाहरूको हत्या गर्ने र त्यसलाई निहुँ बनाएर २४ गते राष्ट्रव्यापी रूपमा लुटपाट, हिंसा र अराजकता फैलाउने काम भयो।’
उनले काँक्रा अरूले खाएर बियाँ एमालेको गालामा टाँस्ने षड्यन्त्र भएको टिप्पणी गरे। सिंहदरबार र संसद् भवन जलाउने तस्बिरहरू पहिले नै तयार पारिएको भन्दै उनले यसमा बाह्य शक्तिको हात रहेको सङ्केत गरे। आफूले दमन नगर्न भन्दाभन्दै पनि कसरी गोली चल्यो भन्ने कुरा रहस्यमय रहेको उनले बताए।
देशलाई अन्धकार युग र अराजकतातिर फर्काउने प्रयास भइरहेको भन्दै ओलीले विधि र पद्धतिविपरीत बलजफ्तीका तरिका अपनाइएको बताए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र शक्तिहरूले समेत नेपाललाई गलत बाटोमा धकेल्न खोजेको उनको आरोप थियो।
गत निर्वाचनमा मौन अवधिभित्र बीबीसीले झुटो कुरा सम्प्रेषण गरेर नेपाललाई गलत बाटोतिर धकेल्न कोसिस गरेको उदाहरण उनले पेस गरे। ‘आफूलाई स्थापित हुँ भन्ने कतिपय अन्तर्राष्ट्रिय मिडियासमेत नेपालमा असत्य छरेर जनतालाई दिग्भ्रमित पार्न उद्यत छन्’, उनले भने।
लोकतान्त्रिक विधिबाट नेपाललाई अघि बढ्न नदिन विभिन्न शक्ति सक्रिय रहेको भन्दै उनले सम्पूर्ण नेपाली जनतालाई सचेत रहन र देश बिग्रिन नदिन आग्रह गरे। व्यक्तिगत स्वार्थमा नअल्झिई राष्ट्रिय हितमा केन्द्रित भएर देशलाई अघि बढाउने अगुवाइ एमालेले मात्र गर्ने उनले दाबी गरे।






प्रतिक्रिया दिनुहोस्