भोटेकोशीपछि बुढीगण्डकीमा बाढीको वितण्डा

गोरखा : बुढीगण्डकीको सहायक खोला हो– स्यार। स्यारको पनि सहायक खोला उङ्गिलुङमाथि शनिबार राति सुक्खापहिरो खस्यो। चुमनुब्री गाउँपालिका—६ स्थित उङ्गिलुङ खोला लामो समय थुनिएर आइतबार बिहान ४ बजेतिर एक्कासि खुल्दा स्यारखोला हुँदै बुढीगण्डकीमा पानीको बहाब बढ्यो। लेदोसहितको बाढीले उडाएको कालो बाफले बुढीगण्डकी उपत्यका आइतबार दिनभर त्रासमय बन्यो।

बाढीले विभिन्न ठाउँमा पहिरो झर्दा बुढीगण्डकी आइतबार बिहान पटक–पटक थुनिँदै–खुल्दै गर्‍यो। यसले गर्दा बुढीगण्डकी उपत्यकाका बासिन्दामा भागदौड मच्चियो। बस्तीबाट भागेर स्थानीयबासी पाखापखेरा, वनजंगलतिर लागे। एकाबिहानै अप्रत्याशित बाढी आए पनि समयमै सूचनाको पहुँच पुग्दा ठूलो मानवीय क्षतिबाट जोगियो। यद्यपि पहिरो स्थलका कैयौं गोठालाहरू बेपत्ता भए, घरगोठ, विद्यालय, जलविद्युत् आयोजना, सडक, बाटोघाटो, क्यान्टिलिभर, मोटरेबल पुललगायत बगे। भू–उपग्रहले लिएको तस्बिरमा शनिबार साँझ नै पहिरो गएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भनाइ छ।

frontline

उङ्गिलुङ खोलातर्फबाट बुढीगण्डकीमा आएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ। चुमनुब्री गाउँपालिकाको लोक्पा, न्याकफेदी, सिर्दिबास, सल्लेरी, घट्टेखोला र जगत क्षेत्रका बासिन्दा घरबासविहीन भएका छन्। यस्तै, धार्चे गाउँपालिकाको दोभान, माछीखोला, यारुबगर र आरुघाट गाउँपालिकाको सोती र आरुघाट बजारमा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here