बेलायतमा कसरी लोकप्रिय बन्दैछ ‘होम एजुकेसन’ ?
धेरै समयअघि मैले बेलायतमा ‘होम एजुकेसन’ अर्थात् घरमै शिक्षा दिने व्यवस्था, यसको इतिहास र विकासक्रमबारे लेख्न सुरु गरेको थिएँ। त्यतिबेला मैले विश्वप्रसिद्ध लेखिका अगाथा क्रिस्टीको नाम पनि पढ्ने मौका पाएको थिएँ। उनको बाल्यकालको दस वर्षसम्मको शिक्षा घरमै भएको जानकारीले मलाई यो विषयप्रति अझ बढी उत्सुक बनायो।
अस्ति बेलायतको टर्क्वे भ्रमण गर्ने क्रममा उनको स्मारिकनजिक पुग्ने अवसर मिल्यो। सन् १८९० मा जन्मिएकी अगाथा क्रिस्टीकी आमाले उनलाई घरमै पढ्नका लागि निकै प्रोत्साहन गरेकी थिइन्। किताब पढ्ने, कल्पना गर्ने र कथा लेख्ने बानीले नै उनको सिर्जनात्मक क्षमतालाई निखार्न ठूलो मद्दत पुर्यायो। पछि उनी संसारकै चर्चित रहस्यकथा लेखिका बनिन्।
मानव सभ्यताको विकाससँगै शिक्षाको स्वरूप पनि परिवर्तन हुँदै आएको छ। आधुनिक विद्यालय प्रणालीको सुरुवात हुनुभन्दा धेरै पहिले मानिसहरूले परिवार, गुरु र समुदायबाटै ज्ञान हासिल गर्थे। भारत र नेपालमा प्रचलित गुरुकुल पद्धति यसको एउटा जीवन्त उदाहरण हो।
विद्यार्थीहरू गुरुको आश्रममा बसेर धर्म, दर्शन, भाषा, तर्कशास्त्र, नैतिकता र व्यावहारिक ज्ञान सिक्ने गर्थे। त्यहाँ गुरु–शिष्यको सम्बन्ध, अनुशासन र निरन्तर अभ्यासलाई निकै महत्त्व दिइन्थ्यो। यद्यपि, त्यो समयमा शिक्षामा सबै वर्ग र समुदायको समान पहुँच थिएन। आजको सन्दर्भमा केही कुरा सिक्न उपयोगी भए पनि त्यस समयको ऐतिहासिक सीमालाई पनि बिर्सन सकिँदैन।






प्रतिक्रिया दिनुहोस्