बेइजिङ पुगे अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ उपराष्ट्रपतिले गरे स्वागत
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि बेइजिङ पुगेका छन्। राष्ट्रपति ट्रम्पलाई चिनियाँ उपराष्ट्रपति हान झेङले विमानस्थल पुगेरमै स्वागत गरेका छन्।
चीनका शीर्ष नेतामध्ये एक मानिने हान झेङलाई स्वागतका लागि पठाइनुलाई बेइजिङले ट्रम्पप्रति सम्मान देखाएको रूपमा विश्लेषण गरिएको छ। यसअघि सन् २०१७ मा ट्रम्प चीन भ्रमणमा जाँदा चीनले तल्लो तहका नेता याङ जेछीलाई स्वागतका लागि पठाएको थियो।
हान झेङले गत वर्ष ट्रम्पको शपथ ग्रहण समारोहमा पनि सहभागिता जनाएका थिए। स्थानीय समयअनुसार बुधबार साँझ ट्रम्प चीन पुगेपछि बेइजिङले भव्य स्वागत गरेको हो।
निलो र सेतो पोशाकमा रहेका करिब ३०० चिनियाँ बालबालिकाले अमेरिकी र चिनियाँ झण्डा फहराउँदै ट्रम्पलाई स्वागत गरेका थिए। ट्रम्पसँग उनका छोरा एरिक ट्रम्प र बुहारी लारा ट्रम्प पनि भ्रमणमा सहभागी छन्।
चिनियाँ राष्ट्रपति सी जिङपिङको निर्देशनमा स्वागत टोलीको नेतृत्व गर्न आएका हान झेङले ट्रम्पसँगै रातो कार्पेटमा हिँडेका थिए। सो क्रममा बालबालिकाले मन्डारिन भाषामा ‘स्वागत छ, हार्दिक स्वागत छ’ भनेका थिए। त्यसपछि ट्रम्पले हात उठाएर अभिवादन गर्दै मोटरकेडतर्फ प्रस्थान गरेका थिए।






प्रतिक्रिया दिनुहोस्