ठप्प प्रायः बनेको नेपाली चियाको भारततर्फको निर्यात पुनः सुचारु

विगत दुई महिनादेखि विभिन्न प्रशासनिक तथा प्राविधिक अड्चनका कारण ठप्प प्रायः बनेको नेपाली चियाको भारततर्फको निर्यात पुनः सुचारु भएको छ ।

नेपाल र भारतबिचको सीमावर्ती नाका काँकडभिट्टा हुँदै नेपाली चियाका ट्रकहरू भारतीय बजारका लागि प्रस्थान गर्न थालेका हुन् । मेची भन्सार कार्यालयका अनुसार मंगलबार इलाम टी र समर भ्यालीका चिया बोकेका दुई वटा ट्रक भारततर्फ प्रस्थान गरेसँगै लामो समयदेखि जारी गतिरोधमा ब्रेक लागेको हो ।

frontline

यसले विगत केही समयदेखि ठुलो आर्थिक नोक्सानी बेहोरिरहेका नेपाली चिया उत्पादक, किसान तथा व्यवसायीहरूमा नयाँ उत्साह जगाएको छ । दुई देशबिचको कूटनीतिक तथा व्यावसायिक पहलकदमीपछि चिया निर्यातको बाटो खुला भएको अधिकारीहरूले जनाएका छन् ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार पछिल्लो समय चिया बोकेका सवारी साधनहरू सहज रूपमा सीमा पार भइरहेका छन् । भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले  रातोपाटीसँग कुरा गर्दै भने, ‘नाकाबाट चिया निर्यात सुचारु भइसकेको छ । हाल निकासीका लागि कुनै पनि प्रशासनिक वा प्राविधिक कठिनाइ देखिएको छैन ।’

हुमागाईंका अनुसार पछिल्लो दुई दिनमा मात्रै कुल ५ ट्रक चिया नेपालबाट भारततर्फ प्रस्थान गरिसकेको छ । अघिल्लो दिन दुई गाडी र त्यसको भोलिपल्ट दुई–तीन गाडी गरेर चिया निर्यातले गति लिन थालेको हो ।

नेपालतर्फको भन्सार प्रक्रिया पूरा गरेर चियाका गाडीहरू नियमित रूपमा भारत गइरहे पनि भारतीय सिमाना पार गरेपछि त्यहाँको स्थानीय प्रशासन वा भन्सारमा कस्तो व्यवहार हुन्छ भन्ने कुराको सुक्ष्म विवरण भने नेपाल भन्सारसँग रहँदैन । तर नाकाबाट निर्यातमा कुनै विषम व्यवधान नदेखिएको उनले बताए ।

  • भारतीय नीतिमा लचकताः एफएसएसएआईको नयाँ मापदण्ड

नेपाली चिया निर्यात सहज हुनुको मुख्य कारण भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले आफ्नो नीतिमा ल्याएको परिवर्तन हो । एफएसएसएआईले जुन २३ मा चिया आयात सम्बन्धी नयाँ व्यवस्था जारी गर्दै जोखिममा आधारित परीक्षण प्रणाली लागु गरेको छ ।

यस नयाँ नीति अनुसार अब आयात गरिने चियाको शतप्रतिशत परीक्षण गर्नुको सट्टा केवल २० प्रतिशत खेप (कन्साइनमेन्ट) मा मात्र ‘र्‍यान्डम’ नमुना परीक्षण गरिनेछ । यसअघि भारतले नेपालबाट आयात हुने प्रत्येक खेपको कडा नमुना परीक्षण गर्ने र आयातकर्ताको गोदाममै पुगेर नमुना सङ्कलन गर्ने अव्यावहारिक नियम लागु गरेको थियो । उक्त नियमका कारण प्रयोगशाला परीक्षणको रिपोर्ट आउन लामो समय लाग्ने र चियाको गुणस्तरमा ह्रास आउने हुँदा नेपाली व्यवसायीहरू निर्यात गर्न नसक्ने अवस्थामा पुगेका थिए ।

नयाँ सरलीकृत नीति लागू भएसँगै सीमा नाकामा हुने अनावश्यक ढिलाइ हटेको छ ।

निकासीमा देखिएको निरन्तरको अवरोधका कारण नेपालको पूर्वी पहाडी तथा तराई क्षेत्रका चिया उद्योगहरू धराशायी हुने अवस्थामा पुगेका थिए । झापा र इलामका मात्रै करिब ९९ वटा चिया उद्योग बन्द हुन पुगेका थिए । बजार नपाएर हरियो चियापत्ती बगानमै खेर जान थालेपछि इलामका उद्योगीहरूले असार १ गतेदेखि र झापाका चिया उद्योगीहरूले असार ४ गतेदेखि आफ्ना कारखाना पूर्ण रूपमा बन्द गरी आन्दोलन सुरु गरेका थिए । चिया खेतीमा आश्रित हजारौँ मजदुर र किसानको जीविकोपार्जनमा सङ्कट आएपछि दबाब बढेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कूटनीतिक र प्रशासनिक स्तरबाट पहल गर्ने र समस्याको दीर्घकालीन समाधान खोज्ने ठोस आश्वासन दिएपछि मात्र उद्योगहरू पुनः सञ्चालनमा आएका थिए ।

  • अर्थोडक्स र सीटीसी चियाको फरक–फरक बजार रणनीति

नेपालमा उत्पादन हुने चियालाई मुख्यतया दुई भागमा वर्गीकरण गरेर हेर्ने गरिन्छ– पहाडी क्षेत्रमा उत्पादन हुने अर्थोडक्स चिया र तराई क्षेत्रमा उत्पादन हुने सीटीसी (क्रस, टियर, कर्ल) चिया ।

हाल पहाडको अर्थोडक्स चियाको निर्यात पूर्ण रूपमा सुचारु भइसकेको छ । नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष एवं चिया निर्यातकर्ता शिव कुमार गुप्ताले पहाडी क्षेत्रको तयारी चिया धमाधम भारत गइरहेको जानकारी दिए ।

अर्कातर्फ, तराईको सीटीसी चिया भने अहिले सीमा पार भइसकेको छैन । तर गुप्ताका अनुसार यो कुनै बाह्य वा कानुनी अवरोधका कारण नभई विशुद्ध व्यावसायिक सौदा र मूल्य (भाउ) नमिल्दा रोकिएको हो । भारतीय आयातकर्ताहरूले नेपाली चियाको माग गरिरहेका छन् र हाल नमुना आदानप्रदान तथा मूल्य मोलतोलको प्रक्रिया चलिरहेकाले केही दिनभित्रै तराईको चिया पनि सहजै भारततर्फ जाने उनले स्पष्ट पारे ।

लामो समयसम्म निर्यात ठप्प हुँदा नेपाली चिया उद्योगहरूमा तयारी चियाको ठुलो मौज्दात थन्किएर बसेको छ । हाल नेपाल र भारतका विभिन्न गोदाममा करिब १३ लाख किलोग्राम तयारी चिया थन्किएको अनुमान व्यवसायीहरूको छ ।

चिया टिप्ने र प्रशोधन गर्ने मुख्य सिजन चलिरहेका बेला यसरी तयारी चिया थन्किँदा उद्योगीहरूको ठुलो पुँजी फ्रिज भएको छ । तारागाउँ चिया स्टेट र सिद्धेश्वर चिया स्टेटका सञ्चालक उत्तम श्रेष्ठका अनुसार उनको दुई वटा कारखानाहरूमा मात्रै ५० हजार किलोग्राम प्रशोधित तयारी चिया मौज्दात थियो ।

निर्यात सुचारु भएपछि उनको उद्योगबाट हालसम्म १० देखि १५ हजार केजी चिया भारत गइसकेको छ । बिस्तारै अन्य उद्योगहरूको चिया पनि निकासी भइरहेको भए पनि सम्पूर्ण मौज्दात खाली हुन र बजार सन्तुलनमा आउन अझै केही समय लाग्ने देखिएको छ ।

  • दार्जिलिङ विरुद्ध इलामः चिया बजारको प्रतिस्पर्धात्मक लडाइँ

नेपालको इलाम र भारतको दार्जिलिङ भौगोलिक रूपमा जोडिएका क्षेत्र हुन् । यहाँको हावापानी, माटो र वायुमण्डल समान भएकाले दुवै क्षेत्रको चियाको विशेषता मिल्दोजुल्दो छ । तर, भारतीय पक्षले नेपाली चियालाई पटक–पटक अवरोध गर्नुको मुख्य कारण बजार प्रतिस्पर्धा र व्यापारिक स्वार्थ भएको उद्यमी उत्तम श्रेष्ठको विश्लेषण छ । दार्जिलिङका चिया बगानहरू बेलायती (ब्रिटिस) शासनकालमा अर्थात् करिब २०० देखि २५० वर्षअघि रोपिएका हुन् ।

पुराना बोट भएका कारण दार्जिलिङको चियाको उत्पादकत्व, स्वाद र गुणस्तर क्रमशः घट्दो क्रममा छ भने त्यहाँको उत्पादन लागत (म्यानुफ्याक्चरिङ कस्ट) निकै बढी छ । यसको विपरीत, नेपालका चिया बगानहरू सरदर ३० देखि ४० वर्ष पुरानामात्र भएकाले यहाँका युवा बोटबाट उत्पादित चियाको स्वाद, सुगन्ध र गुणस्तर निकै उच्च छ । उत्पादन लागत कम भएका कारण नेपाली चिया भारतीय बजारमा तुलनात्मक रूपमा सस्तो मूल्यमा उपलब्ध हुन्छ, जसले दार्जिलिङको महँगो चियालाई सिधै विस्थापित गर्ने डर भारतीय चिया बोर्डलाई छ ।

विगतमा भारतीय पक्षले नेपाली चिया गुणस्तरहीन र विषादीयुक्त भएको आरोप लगाउँदै निकासी रोक्ने अनेक प्रपञ्च रचेको व्यवसायीहरूको गुनासो छ । श्रेष्ठले विगतको तितो अनुभव सुनाउँदै सीमा पार गराउँदा विषादी परीक्षणका नाममा १५ देखि २० दिनसम्म नमुना प्रयोगशालामा अड्काएर राख्ने र परीक्षण असफल भएमा चिया नष्ट गरिदिनेसम्मको मानसिक तनाव दिइने गरेको बताए ।

तर, यति कडा नियम लगाउने भारतीय पक्षले नेपालबाट कच्चा पदार्थ अर्थात् हरियो काँचो चियापत्ती किनेर लैजाँदा भने कुनै पनि अवरोध वा विषादी परीक्षण गर्दैन । नेपाली उद्योगहरूले प्रशोधन गरेको तयारी चियामा मात्र अनेक प्रश्न उठाइनुले भारतीय चिया बोर्डको उद्देश्य नेपाली चिया उद्योगहरूलाई धराशायी बनाउने र नेपालबाट सस्तोमा कच्चा पदार्थमात्र लैजाने रणनीति रहेको प्रस्ट हुन्छ ।

  • दीर्घकालीन विकल्प आवश्यक

हाल दुई देशका अधिकारीहरूबिचको समझदारी र प्रशासनिक दबाबका कारण निर्यात सुचारु भए पनि यो दीर्घकालीन समाधान नभएको चिया उद्यमीहरूको ठहर छ । भारतीय अधिकारीहरूको नीति र मुड परिवर्तन हुनासाथ जुनसुकै बेला फेरि अवरोध सिर्जना हुन सक्ने त्रास कायमै छ । यस अनिश्चितताको स्थायी अन्त्यका लागि नेपाल सरकारले भारत सरकारसँग ‘जी–टु–जी’ (सरकार–सरकार) स्तरको सम्झौता गर्नुपर्ने माग उठेको छ ।

इलाम जिल्लाबाट मात्रै वार्षिक करिब ४ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भइरहेको अवस्थामा यदि सरकारले कूटनीतिक अग्रसरता लिएर तेस्रो मुलुकहरू (जस्तै युरोप, अमेरिका, जापान र खाडी मुलुकहरू) मा नेपाली चिया सिधै निर्यात गर्ने वातावरण मिलाउन सकेमा यो परिमाण दोब्बर हुन सक्छ । तेस्रो मुलुकको बजार विस्तारले भारतमाथिको एकल परनिर्भरता अन्त्य गर्ने र नेपालमा ठुलो मात्रामा विदेशी मुद्रा भित्र्याउन सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here