न्यायपरिषदले चारजना न्यायाधीश सिफारिस गर्ने तयारी
सर्वोच्च अदालतमा न्यायधीश नियुक्तिको तयारी भइरहँदा रास्वपामा चलखेल बढेको छ । न्यायपरिषदले चारजना न्यायाधीश सिफारिस गर्ने तयारी गरिरहेको स्रोतको दावी छ । सरकारले दल निकट न्यायाधीशलाई निरुत्साहित गर्न प्रधानन्यायाधीशमा चौथो वरियताका मनोज शर्मालाई ल्याएको प्रसंग हेर्दा सर्वोच्चमा पनि दल निकट न्यायाधीशलाई प्रवेश निषेध गर्ने सम्भावना छ ।

सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारी प्रतिस्पर्धामा रहेको न्यायपरिषद् स्रोतले जानकारी दिएको छ । हाल बागचन्द उच्च अदालत पोखरा, भट्टराई उच्च अदालत विराटनगर, कुँवर उच्च अदालत पाटन, भण्डारी उच्च अदालत सुर्खेत र तिवारी उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश छन् ।
न्यायाधीशविरुद्ध न्यायपरिषदमा रहेका उजुरीको टुंगो लागेपछि सर्वोच्चको न्यायाधीश नियुक्ति गरिने भएको छ । हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था छ । हाल तीन न्यायाधीश पद रिक्त छ । यही भदौ १४ गतेदेखि ६५ वर्षको उमेरहदका कारण न्यायाधीश तिलप्रसाद श्रेष्ठको अनिवार्य अवकाश हुँदै छ । श्रेष्ठको स्थान रिक्त भएपछि सर्वोच्चमा चार पद रिक्त हुनेछन् ।






प्रतिक्रिया दिनुहोस्